
काठमाडौं ।
दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले सान फ्रान्सिस्कोमा बुधबार मध्यरातमा आयोजित ग्यालेक्सी अनप्याक्ड २०२६ कार्यक्रममा नयाँ ग्यालेक्सी एस२६ सिरिज तथा ग्यालेक्सी बड्स४ सिरिज मुख्य रुपमा सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यस वर्षका ग्यालेक्सी एस२६ मोडेलहरू मुख्य रूपमा अप्टिमाइजेसन र एआईमा केन्द्रित छन्। डिजाइनका हिसाबले अघिल्लो वर्षका ग्यालेक्सी एस२५ सिरिजभन्दा धेरै फरक नभए पनि एआई प्रोसेसिङ क्षमता बढाउने प्रदर्शन सुधारलाई कम्पनीले विशेष रूपमा जोड दिएको छ।
ग्यालेक्सी एस२६ अल्ट्रा मा सबैभन्दा ठूलो हार्डवेयर परिवर्तन “प्राइभेसी डिस्प्ले” हो। यो इन-बिल्ट प्राइभेसी स्क्रिन हो, जसले तपाईंको स्क्रिनमा देखिने संवेदनशील जानकारी छेउछाउका मानिसले हेर्न नपाउने बनाउँछ।
यसका लागि तेस्रो-पक्ष प्राइभेसी स्क्रिन प्रोटेक्टर आवश्यक पर्दैन। अल्ट्रा बाहेक ग्यालेक्सी एस२६+ र ग्यालेक्सी एस२६ को डिजाइन लगभग उस्तै देखिन्छ। यसको मुख्य कारण यसपटक सबै मोडेलले एउटै डिजाइन भाषा अपनाउनु हो।

ग्यालेक्सी एस२६ सिरिजको प्रि-अर्डर खुला भइसकेको छ र आधिकारिक बिक्री मार्च ११ देखि सुरु हुनेछ। सम्भवतः र्याम बढाइएका कारण ग्यालेक्सी एस२६ र एस२६+ को मूल्यमा १०० डलर वृद्धि गरिएको छ। एस२६ को प्रारम्भिक मूल्य ९०० डलर र एस२६+ को १,१०० डलर तोकिएको छ।
ग्यालेक्सी एस२६ अल्ट्रा भने अघिल्लो पुस्ताकै १,३०० डलर मूल्यमा उपलब्ध हुनेछ। साथै, कम्पनीले ग्यालेक्सी बड्स४ (१७९ डलर) र ग्यालेक्सी बड्स४ प्रो (२४९ डलर) पनि सार्वजनिक गरेको छ जुन मार्च ११ मै बजारमा आउनेछन्।
द ईलेकका अनुसार ग्यालेक्सी एस२६ अल्ट्राको प्राइभेसी डिस्प्ले ओएलइडी प्यानलमै आधारित हार्डवेयर फिचर हो। स्क्रिनमा दुई प्रकारका पिक्सेल प्रयोग गरिएका छन्—एकले सिधै प्रयोगकर्ताको आँखातर्फ प्रकाश पठाउँछ भने अर्कोले फराकिलो कोणमा प्रकाश फैलाउँछ।
प्राइभेसी डिस्प्ले सक्रिय गर्दा फराकिलो प्रकाश दिने पिक्सेल बन्द गरिन्छ, जसले वरपरका मानिसले स्क्रिन हेर्न निकै कठिन बनाउँछ। यो सुविधा केवल दायाँ–बायाँ मात्र होइन, माथि–तलबाट पनि स्क्रिन देखिन नदिने गरी काम गर्छ।

यो फिचर सफ्टवेयरमार्फत कस्टमाइज गर्न सकिन्छ। क्विक सेटिङ्सबाट पूरै स्क्रिनमा सक्रिय गर्न सकिन्छ भने नोटिफिकेसनका लागि, निश्चित एपका लागि, वा पिन/पासकोड चाहिने बैंकिङ एपजस्ता एपहरूमा मात्रै पनि प्रयोग गर्न सकिन्छ। कम्पनीका अनुसार यसको रुटिन्स सँग पनि एकाकार हुनेछ जसले स्थानको आधारमा स्वतः सक्रिय गर्न मद्दत गर्छ।
डिजाइनका हिसाबले यस वर्ष तीनै मोडेल लगभग उस्तै देखिन्छन्। अल्ट्रा पहिलेभन्दा कम बाक्लो किनारासहित आएको छ। पछाडिको क्यामेरा अब छुट्टाछुट्टै नदेखिने गरी ग्लास मोड्युलभित्र समेटिएको छ। ग्यालेक्सी एस२६ अल्ट्रा मा यसपटक टाइटेनियमको सट्टा एल्युमिनियम प्रयोग गरिएको छ, जसले फोनलाई ४ ग्राम हल्का बनाएको छ र रंगलाई किनारासम्म एकरूप देखिने बनाएको छ।
कम्पनीले “आर्मर एलुमिनियम” को अझ बलियो संस्करण प्रयोग गरिएको दावी गरेको छ। ७.९ मिमी मोटाइका साथ यो अहिलेसम्मकै सबैभन्दा पातलो अल्ट्रा भएको दाबी गरिएको छ। नयाँ भेपर च्याम्बर कुलिङ प्रणालीले ताप छिटो निकाल्ने भएकाले गेमिङजस्ता भारी काममा स्थिर प्रदर्शन दिन सहयोग गर्छ।
प्रदर्शनका लागि “फर ग्यालेक्सी ” संस्करणको स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेट प्रयोग गरिएको छ जुन क्वालकमसँगको सहकार्यमा तयार गरिएको हो। कम्पनीका अनुसार यसमा केवल क्लक स्पीड मात्र नभई क्यामेरा र पावर व्यवस्थापनसम्म गहिरो कस्टमाइजेसन गरिएको छ। दाबीअनुसार सीपीयू १९ प्रतिशत, जीपीयू २४ प्रतिशत र एनपीयू ३९ प्रतिशत द्रुत भएको छ जसले एआईसम्बन्धी काममा विशेष सुधार ल्याउँछ।
ब्याट्रीतर्फ ग्यालेक्सी एस२६ अल्ट्राले ६० वाट चार्जर प्रयोग गर्दा ३० मिनेटमा ७५ प्रतिशत चार्ज पुग्ने बताइएको छ तर चार्जर भने बक्समा आउँदैन, छुट्टै किन्नुपर्नेछ। एस२६+ मा वायरलेस चार्जिङ गति २० वाट पुगेको छ भने अल्ट्रामा २५ वाट वायरलेस चार्जिङ समर्थन गरिएको छ। तर बिल्ट-इन म्याग्नेट नहुँदा क्यूआई२ चार्जिङका लागि म्याग्नेटिक केस आवश्यक पर्छ।

चिनियाँ प्रतिस्पर्धी कम्पनीहरूले प्रयोग गरिरहेको सिलिकन–कार्बन ब्याट्री प्रविधि भने अझै समावेश गरिएको छैन। उदाहरणका लागि वनप्लस१५ मा७ हजार ३ सय एमएएच ब्याट्री रहेको बताइन्छ तर ग्यालेक्सी एस२६ अल्ट्रा मा अझै ५ हजार एमएएच ब्याट्री नै प्रयोग गरिएको छ।
अन्य हार्डवेयर सुधारमा तीनै फोनमा १०-बिट ओएलइडी डिस्प्ले दिइएको छ जसले अर्बौँ रंग प्रदर्शन गर्न सक्छ। अल्ट्राको २०० मेगापिक्सेल मुख्य क्यामेरा र ५० मेगापिक्सेल ५x अप्टिकल जूम क्यामेरामा फराकिलो अपर्चर प्रयोग गरिएको छ जसले उज्यालो तस्बिर खिच्न मद्दत गर्छ।
नाइट मोडमा न्वाइज रिडक्सन सुधार गरिएको छ भने भिडियोका लागि सुपर स्टेडी मोडमा “होराइजन लक” सुविधा थपिएको छ, जसले फोन घुम्दा पनि भिडियो सीधा राख्न मद्दत गर्छ।

सामसङले नयाँ ग्यालेक्सी एस२६ सिरिजमा थप एआई सुविधाहरू पनि जोड दिएको छ। कम्पनीले विशेष रूपमा प्रचार गरिरहेका केही फिचरहरू यस्ता छन्:
यससँगै ग्यालेक्सी एस२६ स्मार्टफोनसँग ग्यालेक्सी बड्स४ नामक नयाँ वायरलेस इयरबड्सको सिरिज पनि सार्वजनिक गरिएको छ। डिजाइन अघिल्लोजस्तै स्टेमयुक्त छ तर पहिलेभन्दा कम आकर्षक देखिने बनाइएको छ। कम्पनीले लाखौँ कानको आकार विश्लेषण गरेर आरामदायी र स्थिर डिजाइन तयार गरेको दावी गरेको छ।

पहिलेझैँ बड्स४ मा इयरटिप छैन र सामान्य एयरपडजस्तै देखिन्छ भने बड्स४ प्रो मा इयरटिप राखिएको छ जुन एयरपड्स प्रो जस्तै छ।
स्टेममा “इन्ग्रेभ्ड” अर्थात् कुँदिएको भाग थपिएको छ, जसले पिन्च गरेर कन्ट्रोल गर्न सजिलो बनाउँछ। बड्स४ प्रो मा ठूलो वूफर राखिएको छ जसले स्पिकर क्षेत्रफल झन्डै २० प्रतिशत बढाउँछ र समग्र ध्वनि गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।

सक्रिय न्वाइज क्यान्सलेसन पनि सुधार गरिएको छ जसले वातावरणअनुसार केही आवाज छोड्ने र केही रोक्ने काम गर्छ। साथै पिक्सेल बड्स प्रो २ जस्तै टाउको हल्लाएर कल स्वीकार वा अस्वीकार गर्ने जेस्चर सुविधा पनि दिइएको छ।
प्रकाशित: १४ फाल्गुन २०८२, बिहीबार