
काठमाडौं ।
ओप्पोले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन फाइन्ड एन६ को बारेमा जानकारी उपलब्ध गराउन थालेको छ। यो डिभाइस मार्चमा चीनमा लन्च हुने बताइएको छ। साथै यो फोल्डेबल स्मार्टफोन डेब्यू हुनुभन्दा अघि फोनको रेन्डरहरू अनलाइनमा देखा परेका छन्।
टिपस्टर डिजिटल च्याट स्टेशनले फाइन्ड एन६ ले फोल्डेबल डिभाइसमा सबैभन्दा फ्ल्याट डिस्प्ले भएकोमा टीउभी राईनल्याण्डको शीर्ष प्रमाणीकरण प्राप्त गरेको दाबी गरेको छ। ओप्पोले आफ्नो हालैका टिजरहरूमा फोनको लगभग क्रिज–मुक्त स्क्रिनलाई पनि हाइलाइट गरेको छ।
टिपस्टरका अनुसार ओप्पोको पछिल्लो फोल्डेबलले क्रिज–रहित स्क्रिन प्राप्त गर्न सिमलेस टाइटेनियम अलोय हिञ्ज र सेल्फ–हिलिङ मेमोरी ग्लास प्रयोग गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
ओप्पो फाइन्ड एन६ को आधिकारिक देखिने रेन्डरहरू पनि लीक भएका छन्। उक्त रेन्डरहरूले फोनलाई बैजनी, रातो र सेतो रङ्ग विकल्पहरूमा प्रस्तुत गरेको छ।
समग्र डिजाइन र पछाडिको क्यामरा मोड्युल गत वर्षको ओप्पो फाइन्ड एन५ को जस्तै देखिए तापनि नयाँ मोडेलमा क्वाड–क्यामरा सेटअप रहेको बताइएको छ। लीक भएका तस्बिरहरूमा एलईडी फ्ल्यास क्यामरा मोड्युल बाहिर राखिएको देख्न सकिन्छ। यो मोडेलसँग ह्यासलब्लाड साझेदारी जारी रहेको थप उल्लेख गरिएको छ।
हालैका अफवाहहरूका अनुसार फाइन्ड एन६ मार्च १७ मा चीनमा स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसी, ६,००० एमएएच ब्याट्री र २०० मेगाक्सिेल प्राथमिक रियर क्यामराको साथ लन्च हुन सक्ने छ।
प्रकाशित: १४ फाल्गुन २०८२, बिहीबार