
काठमाडौं ।
एप्पलले अमेरिका र अन्य देशहरूमा बढ्दै गएको उमेर–प्रमाणीकरणसम्बन्धी कानुन पालना गर्न नयाँ उपकरणहरू सार्वजनिक गरेको छ।
परिवर्तनअन्तर्गत कम्पनीले ब्राजिल, अस्ट्रेलिया र सिङ्गापुरमा १८ वर्षभन्दा माथिका लागि मात्र मूल्याङ्कन (रेटिङ) गरिएका एप डाउनलोड गर्न रोक लगाउनेछ। साथै, अमेरिकाका यूत: र लुजियानामा लागू भएका कानुनअनुसार अन्य सुविधा पनि सुरु गरिनेछ।
कम्पनीले मंगलबार डेभलपरहरूलाई जानकारी दिँदै “एज एश्योरेन्स” उपकरणहरूको दायरा विस्तार गरिएको र अद्यावधिक गरिएको डिक्लेयर्ड एज रेञ्ज एपीआई बीटा परीक्षणका लागि उपलब्ध गराइएको जनाएको छ।
यी उपकरणहरूले प्रयोगकर्ताको जन्ममिति जस्ता व्यक्तिगत विवरण नपाईकनै उमेर समूह (एज रेञ्ज) सम्बन्धी जानकारी डेभलपरलाई उपलब्ध गराउन मद्दत गर्छन्। विश्वका धेरै सरकारले १८ वर्षभन्दा माथिका वयस्कले मात्र प्रयोग गर्न मिल्ने सामाजिक सञ्जालजस्ता एपहरू सीमित वा प्रतिबन्ध गर्ने कानुन ल्याएपछि यस्तो प्राविधिक समाधानको आवश्यकता बढेको हो।
उदाहरणका लागि ब्राजिलमा प्रयोगकर्ता वा उनका अभिभावकले सहमति दिएमा डेभलपरहरूले डिक्लेयर्ड एज रेञ्ज एपीआई मार्फत उमेर वर्ग प्राप्त गर्न सक्नेछन्।
साथै आजदेखि अस्ट्रेलिया, ब्राजिल र सिङ्गापुरमा रहेका प्रयोगकर्ताले आफू वयस्क भएको पुष्टि नगरेसम्म १८+ रेटिङ भएका एप डाउनलोड गर्न पाउने छैनन्। यस अवस्थामा एप स्टोरले उमेर पुष्टि प्रक्रिया स्वचालित रूपमा गर्नेछ। यद्यपि डेभलपरहरूले अलग्गै कानुनी दायित्व पूरा गर्नुपर्ने हुन सक्छ।
टेकक्रञ्चका अनुसार ब्राजिलमा ‘लुट बक्स’ (जुवा-जस्तै प्रणाली जसमा खेलाडीले इन–गेम पुरस्कारका लागि पैसा तिर्छन्) समावेश भएका खेलहरूका डेभलपरहरूको एप रेटिङ पनि १८+ मा अद्यावधिक गरिनेछ। कानून निर्माता समूहले यस्तो प्रणाली बालबालिकाका लागि उपयुक्त नहुने बताएका छन्।
अमेरिकामा यूत र लुजियानाका नयाँ प्रयोगकर्ताहरूको उमेर वर्ग पनि छिट्टै डिक्लेयर्ड एज रेञ्ज एपीआईमार्फत सम्बन्धित एप डेभलपरसँग साझेदारी गरिनेछ। कम्पनीले उमेर रेटिङ र अनुमतिसम्बन्धी अन्य उपकरणहरू पनि कानुनी दायित्व पूरा गर्न विस्तार गरेको जनाएको छ।
एप्पल को ब्लग पोस्टअनुसार अब एपीआईमार्फत उमेरसम्बन्धी नियामकीय आवश्यकता प्रयोगकर्तामा लागू हुन्छ कि हुँदैन, र प्रयोगकर्ताले आफ्नो उमेर वर्ग साझा गर्नुपर्ने हो कि होइन भन्ने संकेत पनि उपलब्ध हुनेछ। साथै, बाल प्रयोगकर्ताका लागि महत्त्वपूर्ण एप अपडेट गर्दा अभिभावकको अनुमति आवश्यक छ कि छैन भन्ने जानकारी पनि एपीआईले दिनेछ।
गत अक्टोबरमा एप्पलले टेक्ससमा समान उमेर–प्रमाणीकरण आवश्यकता पालना गर्ने प्रयास गरेको थियो, तर उक्त कानुन अदालतमा चुनौती दिइएकाले डिसेम्बरमा केही योजना स्थगित गरिएको थियो। कम्पनीले गत वर्ष आफ्नो उमेर रेटिङ प्रणालीलाई अझ विस्तृत बनाउँदै नयाँ उमेर समूह थप गरेको र एप समीक्षा प्रक्रियामा डेभलपरका लागि थप प्रश्नहरू पनि समावेश गरेको थियो।
प्रकाशित: १३ फाल्गुन २०८२, बुधबार