क्यान्भाले अधिग्रहण गर्यो एनिमेसन र मार्केटिङ क्षेत्रका क्याभलरी र म्याङ्गोएआई स्टार्टअप

  • Technology Khabar | १३ फाल्गुन २०८२, बुधबार
क्यान्भाले अधिग्रहण गर्यो एनिमेसन र मार्केटिङ क्षेत्रका क्याभलरी र म्याङ्गोएआई स्टार्टअप

काठमाडौं ।

क्यान्भाले एनिमेसन र मार्केटिङ क्षेत्रमा काम गरिरहेका दुई स्टार्टअप अधिग्रहण गरेको घोषणा गरेको छ। कम्पनीले सोमबार बेलायतस्थित क्याभलरी र म्याङ्गोएआईलाई अधिग्रहण गरेको जनाएको हो।

क्याभलरीले विज्ञापन, मार्केटिङ, गेमिङ र जेनेरेटिभ आर्टजस्ता विभिन्न क्षेत्रमा टूडी मोसन एनिमेसन टुल विकास गर्दै आएको छ। क्यान्भाका अनुसार क्याभलरीका टुलहरूले २०२४ मा अधिग्रहण गरिएको एफिनिटीको क्षमतामा थप योगदान गर्नेछन्। एफिनिटी क्यान्भाको व्यावसायिक क्रिएटिभ एडिटिङ सूट हो, जसले फोटो, भेक्टर र लेआउट सम्पादन सुविधा दिन्छ।

क्यान्भाले गत वर्ष एफिनिटीको डिजाइन परिमार्जन गर्दै सबै प्रयोगकर्ताका लागि निःशुल्क बनाएको थियो। कम्पनीका अनुसार त्यसयता यो सफ्टवेयर ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ। नयाँ अधिग्रहणमार्फत क्यान्भाले आफ्नो सूटमा मोसन एडिटिङ सुविधा थप्न चाहेको जनाएको छ।

टेकक्रञ्चका अनुसार कम्पनीले ब्लग पोस्टमार्फत क्याभलरीलाई एफिनिटीसँग जोड्दा फोटो, भेक्टर, लेआउट र अब मोसन एडिटिङसमेत समेटिएको पूर्ण व्यावसायिक क्रिएटिभ सूट तयार हुने जनाएको छ। यसले पेशेवर क्रिएटिभ प्रयोगकर्ताले अपेक्षा गर्ने गहिराइ र नियन्त्रण कायम राख्दै “फुल-स्ट्याक क्रिएटिभ ओएस” को आधार तयार गर्ने कम्पनीको दाबी छ।

क्यान्भाले अर्को स्टार्टअप म्याङ्गोएआई पनि अधिग्रहण गरेको छ, जसले भिडियो विज्ञापनको प्रदर्शन सुधार गर्न रिइन्फोर्समेन्ट लर्निङ प्रणाली विकास गरिरहेको थियो। कम्पनीका अनुसार म्याङ्गोएआईको पहिलो उत्पादनले ग्राहकलाई विज्ञापन सिर्जना र सार्वजनिक गर्न सहयोग गर्नुका साथै त्यसको नतिजा विश्लेषण गरेर आगामी अभियान सुधार गर्न मद्दत गर्ने गरेको थियो।

म्याङ्गोएआईका संस्थापक निर्मल गोविन्द, जो यसअघि नेटफ्लिक्समा डाटा साइन्स एन्ड इन्जिनियरिङका उपाध्यक्ष थिए, अब क्यान्भाका पहिलो “चिफ अल्गोरिदम अफिसर” बन्नेछन्। अर्का सह–संस्थापक विनिथ मिश्रा, जो नेटफ्लिक्स र रोब्लक्सका पूर्व डाटा वैज्ञानिक हुन्, क्यान्भाका मार्केटिङ उत्पादन सुधारमा काम गर्नेछन्।

यसअघि जनवरी २०२५ मा क्यान्भाले मार्केटिङ इन्टेलिजेन्स स्टार्टअप म्याजिकब्रिफ अधिग्रहण गरेको थियो। त्यसपछि कम्पनीले क्यान्भा ग्रो नामक ग्रोथ टुल सार्वजनिक गरेको थियो, जसले एसेट निर्माण र प्रदर्शन मापनमा सहयोग गर्छ।

यसै महिनाको सुरुमा वेब समिट कतारमा आयोजित कार्यक्रममा क्यान्भाका सह–संस्थापक तथा सीओओ क्लिफ ओब्रेक्टले क्यान्भा ग्रो विशेषगरी स्थिर (स्ट्याटिक) सामग्री निर्माण र मेटा प्लेटफर्ममा प्रकाशनका सन्दर्भमा राम्रो प्रदर्शन गरिरहेको बताएका थिए।

उनका अनुसार कम्पनीले छिट्टै भिडियो निर्माण र बहुप्लेटफर्ममा प्रकाशन सम्बन्धी थप सुविधा ल्याउने तयारी गरिरहेको छ। हाल यो प्रारम्भिक चरणमै भए पनि साना प्रयोगकर्ता समूहमा लोकप्रिय बन्दै गएको र ठूला ब्रान्डहरूले पनि खर्च बढाउँदै गएको उनले बताएका थिए।

क्यान्भाले २०२५ को अन्त्यसम्म वार्षिक ४ अर्ब डलर आम्दानी दर हासिल गरेको र २६ करोड ५० लाखभन्दा बढी प्रयोगकर्ता, जसमा ३१ मिलियन सशुल्क प्रयोगकर्ता रहेका जनाएको छ। नयाँ अधिग्रहणमार्फत कम्पनीले भिडियो निर्माण र थप विस्तृत प्रदर्शन मापन सुविधा थप्दै आफूलाई सशक्त मार्केटिङ समाधान प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

 

प्रकाशित: १३ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार