
काठमाडौं ।
टेस्लाले अल–ह्वील ड्राइभ भएको साइबरट्रकको नयाँ इन्ट्री–लेभल संस्करण प्रस्तुत गरेको छ। यो मोडेलको पावर लगभग ३२५ किलोवाट र रेन्ज लगभग ५२३ किलोमिटर छ। यो मोडेलको सुरुवाती मूल्य ५९,९९० अमेरिकी डलर रहेको छ। साथै यो मोडेलको सुरुवाती मूल्य अघिल्लो मोडेलको ७९,९९० अमेरिकी डलरको मूल्य भन्दा २०,००० अमेरिकी डलर कम हो।
टेस्लाले साइबरट्रकको बेस (आधार) संस्करणलाई फुल ट्रयाक्सन सहित अझ शक्तिशाली र बढी किफायती बनाएको छ।
साइबरट्रकको बिक्री अपेक्षाभन्दा कम भएकोले यो परिवर्तन गरिएको र कम्पनीले धेरै ग्राहकहरूलाई आकर्षित गर्न मूल्यमा उल्लेखनीय कटौती गर्ने निर्णय गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।
पुरानो इन्ट्री–लेभल संस्करणलाई अब प्रिमियम अल–ह्वील ड्राइभ भनिनेछ र मूल्य ७९,९९० अमेरिकी डलरमा नै रहने र नयाँ मोडेल अब पहिलेभन्दा बढी किफायती भएको थप उल्लेख गरिएको छ।
नयाँ साइबरट्रकको मूल्य इलन मस्कले सुरुमा वाचा गरेको ४०,००० अमेरिकी डलर भन्दा बढी भए तापनि २०,००० अमेरिकी डलरको मूल्य कटौतीलाई नयाँ खरीददारहरूलाई आकर्षित गर्न महत्त्वपूर्ण कदम मानिएको छ।
विदेशी समाचारले पनि साइबरट्रकको बिक्री अपेक्षाभन्दा धेरै कम भएको संकेत गरेका छन् र प्रति त्रैमासिक लगभग ५,००० युनिट रहेको बताइएको छ जुन सुरुमा अनुमान गरिएको भोल्युमको १० प्रतिशत भन्दा कम हो।
टेस्लाले आफ्नो सबैभन्दा महँगो मोडेल साइबरबिस्टको मूल्य पनि ११४,९९० अमेरिकी डलरबाट घटाएर ९९,९९० अमेरिकी डलरमा झारेको छ। साथै कम्पनीले पहिले समावेश गरिएका धेरै वैकल्पिक प्याकेजहरू पनि हटाएको छ।
सामान्यतया, विद्युतीय सवारी साधनको माग सुस्त भएको र अन्य ब्रान्डहरूबाट बढी प्रतिस्पर्धा भएको बजारमा खरीददारहरूको चासो जगाउन मूल्य कटौती गरिन्छ।
प्रकाशित: १२ फाल्गुन २०८२, मंगलवार