नेटफ्लिक्सले बोर्ड सदस्य सुसन राइसलाई नहटाए ‘परिणाम भोग्नुपर्ने’ राष्ट्रपति ट्रम्पको चेतावनी

  • Technology Khabar | ११ फाल्गुन २०८२, सोमबार
नेटफ्लिक्सले बोर्ड सदस्य सुसन राइसलाई नहटाए ‘परिणाम भोग्नुपर्ने’ राष्ट्रपति ट्रम्पको चेतावनी

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जालमा पोस्ट गर्दै नेटफ्लिक्सले बोर्ड सदस्य सुसन राइसलाई नहटाए “परिणाम भोग्नुपर्ने” चेतावनी दिएका छन्। राइस सन् २०१८ देखि नेटफ्लिक्सको बोर्ड अफ डाइरेक्टर्समा रहेकी छन्।

टेकक्रञ्चका अनुसार ट्रम्पको टिप्पणी संयुक्त राष्ट्रसंघका पूर्व राजदूत तथा ओबामा र बाइडेन प्रशासनमा कूटनीतिक र सल्लाहकार भूमिकामा रहेकी राइस स्टे ट्युन्ड विद प्रीत कार्यक्रममा सहभागी भएपछि आएको हो। उक्त पोडकास्ट प्रीत भराराले सञ्चालन गर्छन्। कार्यक्रममा राइसले ट्रम्पलाई “घुँडा टेकेर” समर्थन गर्ने कर्पोरेट कम्पनीहरू डेमोक्र्याटहरू फेरि सत्तामा फर्किएपछि जवाफदेही बनाइने बताएकी थिइन्।

उनले यदि कम्पनीहरूले डेमोक्र्याटहरू सत्तामा फर्किँदा पुरानै नियमअनुसार खेल्ने र आफूहरूले हटाएका कर्मचारी, उल्लंघन गरेका नीति–सिद्धान्त वा बेवास्ता गरेका कानुनबारे माफी पाइने सोचेका भए त्यो गलत हुने बताएकी थिइन्।

यसको जवाफमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, “नेटफ्लिक्सले जातिवादी र ट्रम्प–विरोधी सुसन राइसलाई तुरुन्तै हटाओस्, नत्र परिणाम भोग्नुपर्छ। उनीसँग कुनै प्रतिभा वा सीप छैन — केवल राजनीतिक व्यक्ति हुन्। उनको शक्ति समाप्त भइसकेको छ र कहिल्यै फर्किने छैन। उनलाई कति तलब दिइएको छ, र केका लागि?”

ट्रम्पको पोस्टमा अतिदक्षिणपन्थी अभियन्ता लाउरा लूमरको पोस्टको स्क्रिनसट पनि समावेश थियो। लूमरले राइसको टिप्पणीको आलोचना गर्दै नेटफ्लिक्स र वार्नर ब्रोज बीचको सम्भावित मर्जरले स्ट्रिमिङ क्षेत्रमा एकाधिकार निम्त्याउने दावी गरेकी थिइन्।

साथै नेटफ्लिक्स र ओबामाहरूको प्रोडक्सन कम्पनी हायर ग्राउण्ड रडक्शन्स बीचको सम्झौताका कारण ओबामाहरूको उल्लेखनीय हिस्सेदारी रहने दावी गरिएको थियो।

ट्रम्पले “परिणाम” के हुने भन्ने स्पष्ट पारेका छैनन्। तर नेटफ्लिक्सको वार्नर ब्रदर्स खरिद प्रस्ताव संघीय नियामकबाट स्वीकृत हुनुपर्नेछ। रिपोर्टअनुसार सम्झौता घोषणा हुनुअघि नेटफ्लिक्सका सह–सीईओ टेड साराण्डोसले ट्रम्पसँग भेट गरेका थिए। त्यसपछि ट्रम्पले नेटफ्लिक्स “उत्कृष्ट कम्पनी” भए पनि “बजार हिस्सेदारी धेरै भएकाले के हुन्छ हेर्नुपर्ने” बताएका थिए।

गत शरद ऋतुमा पनि ट्रम्पले यस्तै पोस्ट गर्दै माइक्रोसफ्टठलाई आफ्नो ग्लोबल अफेयर्स प्रमुख लिसा मोनाकोलाई हटाउन माग गरेका थिए। उनलाई पनि लूमरले निशाना बनाएकी थिइन्। मोनाको भने हालसम्म माइक्रोसफ्टमै कार्यरत छिन्।

प्रकाशित: ११ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार