चीनका ब्रेन–कम्प्युटर इन्टरफेस उद्योग पनि तीव्र गतिमा अघि बढ्दै, न्युरालिङ्कलाई टक्कर दिन सक्ने

  • Technology Khabar | ११ फाल्गुन २०८२, सोमबार
चीनका ब्रेन–कम्प्युटर इन्टरफेस उद्योग पनि तीव्र गतिमा अघि बढ्दै, न्युरालिङ्कलाई टक्कर दिन सक्ने
तस्बिर: टेकक्रञ्च

काठमाडौं ।

चीनको ब्रेन–कम्प्युटर इन्टरफेस (बीसीआई) उद्योग तीव्र गतिमा अघि बढिरहेको छ। अर्बपति इलन मस्कको न्युरालिङ्कले आफूलाई बीसीआई क्षेत्रमा “अग्रणी” बताइरहे पनि चीनमा भने यो उद्योग अनुसन्धानबाट व्यावसायिक विस्तारतर्फ शान्त रूपमा अघि बढिसकेको छ।

नयाँ स्टार्टअपहरूको लहरले प्रत्यारोपणयोग्य र गैर–आक्रामक दुवै प्रकारका बीसीआई व्यावसायीकरण गर्ने दौडमा लागेको छ। बलियो नीतिगत समर्थन, बढ्दो क्लिनिकल परीक्षण र लगानीकर्ताको चासोले यसलाई थप गति दिएको छ।

दुई बीसीआई स्टार्टअप स्थापना गरेका फिनिक्स पेङका अनुसार सिचुआन, हुबेई र झेजियाङ जस्ता प्रान्तहरूले बीसीआईका लागि स्वास्थ्य सेवा मूल्य निर्धारण गरिसकेका छन्, जसले यसलाई राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीमा समावेश गर्न सजिलो बनाएको छ। उनका अनुसार भविष्यमा यो प्रविधि रोग उपचारबाट “मानव क्षमतावृद्धि” तर्फ विस्तार हुन सक्छ।

पेङ भन्छन्, न्युरोसाइन्स र कृत्रिम बुद्धिमत्ता (एआई) एउटै सिक्काका दुई पाटा हुन् र दुवैको गहिरो एकीकरण अनिवार्य छ। बीसीआई कार्बन–आधारित मानव बुद्धि र सिलिकन–आधारित एआई बीचको अन्तिम पुल बन्नेछ।

आगामी तीनदेखि पाँच वर्षसम्म बीसीआई मुख्यतः स्वास्थ्य क्षेत्रमा केन्द्रित रहने अनुमान छ। बीमा कभरेज विस्तार भएसँगै बजार बहु-अर्ब डलरको आकारमा पुग्ने अपेक्षा गरिएको छ। सन् २०२५ अगस्टमा चीनको उद्योग मन्त्रालयसहित छ निकायले बीसीआई विकास तीव्र पार्न राष्ट्रिय रोडम्याप सार्वजनिक गरेका थिए। योजनाले २०२७ सम्म प्राविधिक उपलब्धि, २०३० सम्म पूर्ण आपूर्ति शृंखला र विश्वस्तरीय प्रतिस्पर्धी कम्पनी विकास गर्ने लक्ष्य राखेको छ।

टेकक्रञ्चका अनुसार बीसीआई विकासलाई गति दिने चार प्रमुख कारणमध्ये पहिलो बलियो नीतिगत समर्थन हो। दोस्रो विशाल क्लिनिकल स्रोत र ठूलो बिरामी आधार, तेस्रो सेमिकण्डक्टर, एआई र मेडिकल हार्डवेयर क्षेत्रमा चीनको परिपक्व उत्पादन क्षमता र चौथो राज्य र निजी क्षेत्रबाट बढ्दो रणनीतिक लगानी हो।

चीनका अनुसन्धानकर्ताले पूर्ण रूपमा प्रत्यारोपण गरिएको ताररहित बीसीआईको सफल परीक्षण गरिसकेका छन् जसले पक्षघातग्रस्त बिरामीलाई बाह्य उपकरणबिनै डिभाइस नियन्त्रण गर्न सक्षम बनायो। यसअघि यस्तो परीक्षण सम्पन्न गर्ने पहिलो कम्पनी न्युरालिङ्क नै थियो।

चीनका सक्रिय कम्पनीहरूमा न्युरोएक्सेस, ब्रेनको, न्युराकल लगायत छन्। अमेरिकातर्फ सिङ्क्रोन र प्याराडर्मिक्स जस्ता कम्पनी अग्रपंक्तिमा छन्।

मिडिया रिपोर्टअनुसार चीनको बीसीआई बजार २०२५ मा ३.८ अर्ब युआन (झन्डै ५३० मिलियन डलर) नाघ्ने अनुमान छ जुन २०२४ को ३.२ अर्ब युआनबाट वृद्धि हो। २०४० सम्म यो बजार १२० अर्ब युआनभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ।

बीसीआई दुई प्रमुख मार्गमा अघि बढिरहेको छ। पहिलो मस्तिष्कमा इलेक्ट्रोड प्रत्यारोपण गर्ने आक्रामक विधि, जसले उच्च सटीकता दिन्छ तर शल्यक्रियाको जोखिम हुन्छ। दोस्रो ईईजीजस्ता प्रविधि प्रयोग गर्ने गैर–आक्रामक हेडसेट प्रणाली जसले केही सटीकता त्यागे पनि सुरक्षात्मक र प्रयोगमैत्री हुन्छ।

अल्ट्रासाउन्ड, म्याग्नेटोएन्सेफालोग्राफी, ट्रान्सक्रानियल म्याग्नेटिक स्टिमुलेसन र हाइब्रिड बीसीआई जस्ता नयाँ प्रविधिले क्षेत्रलाई अझ फराकिलो बनाइरहेका छन्। गैर–आक्रामक समाधानले अपनत्व अवरोध घटाउने अपेक्षा गरिएको छ किनकि सबै व्यक्ति मस्तिष्कमा शल्यक्रिया गर्न तयार हुँदैनन्।

अगामी पाँच वर्षमा चीनको बीसीआई नियमावली अन्तर्राष्ट्रिय मापदण्डसँग नजिकिने अपेक्षा गरिएको छ। विशेष गरी नियामक स्वीकृति र डाटा सार्वभौमिकतामा ध्यान केन्द्रित गरिनेछ। आक्रामक उपकरण र डाटा सुरक्षामा कडा निगरानी, तर गैर–आक्रामक प्रविधिमा सहज स्वीकृति दिने संकेत देखिएको टेकक्रञ्चले उल्लेख गरेको छ।

नैतिक पक्षमा उभिएर हेर्दा चीनले सूचित सहमति मजबुत बनाउने, चिकित्सा बाहिर पनि नैतिक समीक्षा विस्तार गर्ने र क्लिनिकल मूल्यांकनका लागि एकीकृत प्राविधिक मापदण्ड विकास गर्ने योजना बनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार