
काठमाडौं ।
जर्मनीको सत्तारूढ दलले बालबालिकाका लागि सामाजिक सञ्जालमा कडाइ गर्ने प्रस्ताव पारित गरेको छ।
क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) ले शनिबार १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने र किशोर–किशोरीका लागि कडा डिजिटल उमेर प्रमाणीकरण प्रणाली लागू गर्ने प्रस्ताव पारित गरेको हो।
स्टटगार्टमा भएको पार्टी सम्मेलनमा चान्सलर फ्रेडरिक मर्ज नेतृत्वको सीडीयूले यस्तो सीमा कार्यान्वयन नगर्ने अनलाइन प्लेटफर्महरूलाई जरिवाना गर्नुपर्ने र युरोपियन संघभरि समान उमेर मापदण्ड लागू गर्नुपर्ने माग पनि गरेको छ।
रोयटर्सका अनुसार स्पेन, ग्रीस, फ्रान्स र बेलायतलगायतका देशहरूले पनि टिकटक वा इन्स्टाग्रामजस्ता प्लेटफर्ममा पहुँच सीमित गर्ने वा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेका छन्। अष्ट्रेलियाले गत वर्ष बालबालिकाको पहुँच रोक्न प्लेटफर्महरूलाई बाध्य बनाउने पहिलो देश बनेको थियो।
युरोपेली देशहरूले सामाजिक सञ्जाल कम्पनीहरूमा व्यापक दबाब बढाइरहेका बेला अमेरिकाबाट प्रतिक्रिया आउने जोखिम पनि देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि युरोपेली संघका देशहरूले अमेरिकी प्रविधि कम्पनीलाई असर गर्ने नयाँ कर वा अनलाइन नियम लागू गरे भने भन्सार शुल्क र प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
शनिबार पारित प्रस्तावमा भनिएको छ, “सामाजिक सञ्जाल प्रयोगका लागि १४ वर्षको कानुनी उमेर सीमा तोक्न र १६ वर्षसम्म डिजिटल क्षेत्रमा विशेष सुरक्षाको आवश्यकता सम्बोधन गर्न संघीय सरकारलाई आह्वान गर्दछौं।”
मेर्जको गठबन्धन साझेदार सोसल डेमोक्र्याटिक पार्टी अफ जर्मनीले पनि बालबालिकाका लागि सामाजिक सञ्जाल कडाइको समर्थन गरेको छ। दुवै दलको दबाबका कारण संघीय सरकारले प्रतिबन्धतर्फ पहल गर्ने सम्भावना बढेको छ। तर जर्मनीको संघीय व्यवस्थाअनुसार सञ्चारसम्बन्धी नियमन राज्य (ल्यान्ड) तहको जिम्मेवारी हो, त्यसैले देशभरि समान नियम लागू गर्न राज्यहरूले आपसी सहमति गर्नुपर्ने हुन्छ।
यस सम्भावित प्रतिबन्धले Bonnस्थित कार्डिनल फ्रिङ्स जिम्नाजियमका विद्यार्थीहरूलाई असर गर्न सक्छ। विद्यालय परिसरमा केही विद्यार्थीहरू मोबाइलमा स्क्रोल गरिरहेको देखिन्थ्यो। १३ वर्षीय मोरित्सले आफूले युट्युब मात्र हेर्ने बताउँदै भने, “मलाई यो उचित लाग्छ, तर प्रतिबन्ध लगाउने निर्णय राज्यले होइन, अभिभावकले गर्नुपर्छ।”
उनले १२ वर्षभन्दा कम उमेरकालाई प्रतिबन्ध गर्नुपर्ने तर १२ वर्षपछि बालबालिकाले के नक्कली समाचार हो र के होइन छुट्याउन सक्ने धारणा व्यक्त गरे। उनकी सहपाठी १३ वर्षीया एम्माले मुख्यतः स्न्यापच्याट प्रयोग गर्ने बताइन्, तर फोनमा समय सीमा राखिएको छ। उनले भनिन्, “बिहान विद्यालय जानुअघि स्न्याप पठाउने वा केही समय इन्स्टाग्राम वा टिकटक चलाउने बानी परेको छ, त्यसैले प्रतिबन्ध अस्वाभाविक लाग्छ।”
१२ वर्षीया एल्लाले दिनमा धेरै पटक सामाजिक सञ्जाल प्रयोग गर्ने बताइन्। “मसँग टिकटक र इन्स्टाग्राम छन्, तर यो लतजस्तै हुने कुरा बुझ्छु। जति धेरै स्क्रोल गर्यो, उति धेरै हेर्न मन लाग्छ,” उनले भनिन्। शिक्षक टिल फ्राङ्केले सुरुमा विद्यार्थीहरूलाई धक्का लाग्न सक्ने बताए। “दैनिक प्रयोगका कारण सुरुमा कठिन होला, तर बिस्तारै उनीहरूले एक–अर्कासँग संवाद गर्ने अन्य माध्यम खोज्नेछन्,” उनले भने।
प्रकाशित: ११ फाल्गुन २०८२, सोमबार