मेटाद्वारा होराइजन वर्ल्डमा ठूलो अपडेट घोषणा, मेटाभर्स रणनीतिबाट पछि हट्ने संकेत

  • Technology Khabar | ९ फाल्गुन २०८२, शनिबार
मेटाद्वारा होराइजन वर्ल्डमा ठूलो अपडेट घोषणा, मेटाभर्स रणनीतिबाट पछि हट्ने संकेत
फाइल तस्बिर

काठमाडौं ।

मेटाले आफ्नो भर्चुअल संसार प्लेटफर्म होराइजन वर्ल्डमा ठूलो अपडेट घोषणा गर्दै मेटाभर्स रणनीतिबाट पछि हट्ने संकेत दिएको छ। कम्पनीले अब होराइजन वर्ल्डलाई “लगभग पूर्ण रूपमा मोबाइल केन्द्रित” बनाउने र आफ्नो क्वेस्ट भीआर प्लेटफर्मलाई उक्त भर्चुअल संसारबाट स्पष्ट रूपमा अलग गर्ने जनाएको छ।

मेटाको भीआर तथा स्मार्ट ग्लास विकास इकाई रियालिटि ल्याब्सले सन् २०२० यता झन्डै ८० अर्ब डलर घाटा ब्यहोरेको छ। होराइजन वर्ल्डमा गरिएको यो परिवर्तन र पछिल्ला कदमहरूले कम्पनीले आफ्नो भीआर महत्वाकांक्षा पुनर्विचार गरिरहेको संकेत गर्छ।

टेकक्रञ्चका अनुसार गत महिना रियालिटि ल्याब्सबाट करिब १,५०० कर्मचारी (झन्डै १० प्रतिशत) कटौती गरिएको र केही भीआर गेम स्टुडियो बन्द गरिएको विवरण सार्वजनिक भएको थियो। साथै २०२३ मा मेटा ले अधिग्रहण गरेको भीआर फिटनेस एप सुपरनेचुरल अब नयाँ सामग्री उत्पादन नगरी “मेन्टेनेन्स मोड” मा जाने बताइएको छ।

होराइजन वर्ल्ड सन् २०२१ मा भीआर प्लेटफर्मका रूपमा सुरु भएको थियो र पछि वेब तथा मोबाइलमा विस्तार गरिएको थियो। कम्पनीले अब “ठूलो बजार समेट्न खेल नै परिवर्तन गर्ने” लक्ष्यसहित मोबाइलमा पूर्ण ध्यान दिने बताएको छ।

मोबाइल-फर्स्ट रणनीतिसँगै होराइजन वर्ल्डले रोब्लक्स र फोर्टनाइटजस्ता लोकप्रिय प्लेटफर्मसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। रियालिटि ल्याब्सकी सामग्री उपाध्यक्ष सामन्था रायनले मेटासँग विश्वका ठूला सामाजिक सञ्जालमार्फत अर्बौँ प्रयोगकर्तासँग खेलहरू जोड्ने क्षमता भएकाले ठूलो स्तरमा सामाजिक गेम उपलब्ध गराउन सकिने बताइन्।

यद्यपि मेटा ले भीआर हार्डवेयर विकास भने जारी राख्ने स्पष्ट पारेको छ। भविष्यमा बजार विस्तारसँगै विभिन्न प्रयोगकर्ता समूह लक्षित नयाँ भीआर हेडसेट ल्याउने रोडम्याप रहेको कम्पनीको भनाइ छ।

समग्रमा मेटाले मेटाभर्समा केन्द्रित लगानी घटाउँदै कृत्रिम बुद्धिमत्ता (एआई) तर्फ प्राथमिकता सारेको देखिन्छ। कम्पनी अहिले एआई आधारित वेयरेबल उपकरण विकास र आफ्नै एआई मोडेल उन्नत बनाउन केन्द्रित छ।

पछिल्लो आम्दानी प्रस्तुतीकरणमा सीईओ मार्क जुकरबर्गले केही वर्षभित्र अधिकांश चस्मा एआई चस्मा हुने कल्पना गर्न गाह्रो नहुने बताएका थिए। उनले मेटाका स्मार्ट ग्लास बिक्री गत वर्ष तीन गुणा बढेको र ती इतिहासकै सबैभन्दा तीव्र गतिमा बढिरहेका उपभोक्ता इलेक्ट्रोनिक्समध्ये पर्न सक्ने दावी गरेका छन्।

 

प्रकाशित: ९ फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...