
काठमाडौं ।
प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु १३ लाख ८० हजारका मोबाइल, ल्यापटपसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने ३४ वर्षीय सञ्जीव खड्का रहेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
उनले भने, “त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गोल्डेन गेट बाहिरपट्टि शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा निगरानी गर्दै जाँदा निजले बाह्य मुलुकबाट नेपाल आगमन भएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई विद्युतीय सामग्री अवैध रूपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो।”
आईफोन १७ प्रो म्याक्स २५६ जिबीका चार थानका रु आठ लाख बराबर, एमफोर म्याकबुक २५६ जिबीका रु दुई लाख ६० हजार बराबर र एमफोर म्याकबुक ५१२ जिबीका रु तीन लाख २० हजार बराबरका विद्युतीय सामग्री अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता सिलवालले बताए। रासस
प्रकाशित: ८ फाल्गुन २०८२, शुक्रबार