बिल गेट्स र जेन्सेन हुआङ भारतको एआई इम्प्याक्ट समिटबाट बाहिरिए: कारण के हुन सक्छ?

  • Technology Khabar | ७ फाल्गुन २०८२, बिहीबार
बिल गेट्स र जेन्सेन हुआङ भारतको एआई इम्प्याक्ट समिटबाट बाहिरिए: कारण के हुन सक्छ?

काठमाडौं ।

अर्बपति बिल गेट्सले भारतको एआई इम्प्याक्ट समिटमा बिहीबार तय गरिएको मुख्य सम्बोधन गर्नुअघि नै सहभागी नहुने निर्णय गरेका छन्। यसअघि नै व्यवस्थापन कमजोरी, रोबोट विवाद र ट्राफिक अव्यवस्थाका कारण आलोचना खेपिरहेको उक्त कार्यक्रमलाई यसले थप धक्का दिएको छ।

गेट्सपछि जेन्सन हुआङले पनि सहभागिता रद्द गरेका छन्। विश्वको दक्षिणी भाग (ग्लोबल साउथ) मा आयोजित पहिलो ठूलो कृत्रिम बुद्धिमत्ता फोरमका रूपमा प्रचार गरिएको उक्त सम्मेलनमार्फत भारतले एआई शासनमा अग्रणी भूमिका देखाउने प्रयास गरेको थियो।

गेट्स फाउन्डेसनले एक विज्ञप्तिमा गेट्सले “एआई समिटका मुख्य प्राथमिकतामा ध्यान केन्द्रित रहोस् भन्ने सुनिश्चित गर्न” सम्बोधन नगर्ने जनाएको छ। केही दिनअघि मात्र फाउन्डेसनले उनी अनुपस्थित रहने हल्ला अस्वीकार गर्दै कार्यक्रममा सहभागी हुने बताएको थियो।

गत महिना अमेरिकी न्याय विभागले सार्वजनिक गरेको इमेलमा दिवंगत वित्तीय व्यवसायी तथा यौन अपराधी ठहर भएका जेफ्री एपस्टिन र गेट्स फाउन्डेसनका कर्मचारीबीचको संवाद समेटिएको थियो। गेट्सले एपस्टिनसँगको सम्बन्ध परोपकारसम्बन्धी छलफलमा सीमित रहेको र उनीसँग भेट गर्नु गल्ती भएको बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारको सम्बोधनमा एआई प्लेटफर्ममा बालबालिकाको सुरक्षामा विशेष सतर्कता अपनाउनुपर्ने बताएका छन्। कार्यक्रममा फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों, गुगलका सीईओ सुन्दर पिचाई, ओपनएआईका सीईओ साम अल्टम्यान तथा एन्थ्रोपिकका सीईओ डारियो अमोडेई सहभागी थिए।

“हामी बालबालिकाको सुरक्षाप्रति अझै सचेत हुनुपर्छ। जसरी विद्यालयको पाठ्यक्रम तयार गरिन्छ, त्यस्तै एआई क्षेत्र पनि बालबालिका र परिवारमैत्री हुनुपर्छ,” मोदीले भने। शीर्ष एआई कम्पनीका कार्यकारीहरूसँग एउटै मञ्चमा उभिएर उनले तस्बिर खिचाएका थिए। तस्बिर खिच्ने क्रममा ओपनएआई र एन्थ्रोपिकका प्रमुख अल्टम्यान र अमोडेई सँगै उभिए पनि अन्यले जस्तै हात समातेका थिएनन्, जसले केही असहज दृश्य सिर्जना गरेको थियो।

रोयटर्सका अनुसार भारतको पहिलो ठूलो एआई सम्मेलन व्यवस्थापन कमजोरीका कारण आलोचित बनेको छ। सहभागीहरूले सरकारी तयारी कमजोर भएको भन्दै असन्तुष्टि जनाएका छन्।

सम्मेलनका प्रदर्शनी हल बिहीबार सर्वसाधारणका लागि अचानक बन्द गरिएका थिए, जसले स्टल राखेका कम्पनीहरूमा थप असन्तुष्टि बढाएको थियो। तीन दिनसम्म ठूलो भीड देखिएको कार्यक्रमस्थल बिहीबार भने प्रायः सुनसान देखिएको थियो।

बुधबार भारतीय विश्वविद्यालय गालगोटियासलाई चिनियाँ कम्पनीले बनाएको व्यावसायिक रोबोटिक कुकुर आफ्नै आविष्कारका रूपमा प्रस्तुत गरेपछि स्टल खाली गर्न लगाइएको थियो।

समिटका लागि भिआइपी आवागमनलाई प्राथमिकता दिन प्रहरीले सडक बन्द गरेपछि दुई करोड जनसंख्या भएको सहरमा ट्राफिक अव्यवस्था सिर्जना भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सहभागीहरूलाई सडक बन्द भएपछि माइलौं हिँड्न बाध्य भएको देखिएको थियो।

ट्याक्सी र सटल सेवाको व्यवस्था नभएको गुनासो गरिएको थियो। विपक्षी नेतृ महुआ मोइत्राले यस्ता भिडियो पुनःपोस्ट गर्दै कमजोर व्यवस्थापनले भारतको अन्तर्राष्ट्रिय छवि बिगारेको टिप्पणी गरेकी छन्।

यद्यपि सम्मेलनका क्रममा अडानी समूह, माइक्रोसफ्ट तथा डाटा सेन्टर कम्पनी योट्टा लगायतबाट १०० अर्ब डलरभन्दा बढी लगानी प्रतिबद्धता आएको जनाइएको छ।

भारतीय सरकारले आगामी दुई वर्षभित्र कुल प्रतिबद्धता २०० अर्ब डलर नाघ्ने अपेक्षा गरेको छ। तर विश्लेषकहरूले तीव्र पूर्वाधार विस्तारले भारतको विद्युत् सञ्जाल र पानी आपूर्तिमा दबाब पर्न सक्ने चेतावनी दिएका रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ७ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार