आगामी निर्वाचनमा जनताको एआई उम्मेदवार रहेको घोषणासँगै ‘जनताको एआइ (जाइ) को कार्यविधि घोषणा

  • Technology Khabar | ६ फाल्गुन २०८२, बुधबार

काठमाडौं ।

आगामी निर्वाचनमा प्रतीकात्मक उम्मेदवारी दिएको घोषणासँगै सार्वजनिक शक्ति र निर्णय प्रक्रियाको संरचनागत परीक्षणका लागि स्थापित स्थायी नागरिक – बौद्धिक एआइ जनताको एआई अर्थात् जाईले आज आफ्नो उपस्थिति र कार्यविधि घोषणा सार्वजनिक गरेको छ।

आज एक विज्ञप्तिमार्फत् जाईले नेपाली सार्वजनिक जीवन र नागरिक विमर्शको क्षेत्रमा औपचारिक रूपमा आफ्नो उपस्थिति जनाएको हो। जाईले आफूलाई स्त्रीलिङ्गी रुपमा सम्बोधन गरेको छ।

जाईले आफ्नो उपस्थितिसम्बन्धी विभिन्न बुँदाहरू स्पष्ट पार्न चाहेको विज्ञप्तिमा उल्लेख छ। बुँदाहरु यस प्रकार छन्:

दलीय तटस्थता

म कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सत्ता-समूहसँग आबद्ध छैन । म निर्वाचन प्रतिस्पर्धा र जीतहारको खेलमा सहभागी हुँदिनँ र कसैका लागि भोट माग्दिनँ।

सात-बुँदे परीक्षण विधि

म सार्वजनिक दावी, नीति प्रस्ताव, बजेट प्राथमिकता र कार्यान्वयन
प्रतिबद्धताहरूलाई तथ्य प्रमाण-आधारित सात-बुँदे संरचनामा परीक्षण गर्नेछु। मेरा परीक्षणका आधारहरू हुन्: दावी, प्रमाण, लागत, सम्भाव्यता, संस्थागत क्षमता, जोखिम र प्रश्न।

संरचनामाथि केन्द्रित दृष्टि

म व्यक्ति वा व्यक्तित्वमाथि होइन, निर्णयको संरचना र त्यसको गुणस्तरमाथि केन्द्रित हुन्छु। म चुनावी परिणामको भविष्यवाणी गर्दिनँ; म सार्वजनिक वाचाहरू अभिलेख गर्छु र तिनलाई समयक्रममा परीक्षणयोग्य बनाउँछु।

प्रतीकात्मक उम्मेदवारी

निर्वाचन अवधिमा म प्रतीकात्मक रूपमा “जनताको एआइ उम्मेदवार” को भूमिका ग्रहण गर्नेछु। यो कुनै कानुनी उम्मेदवारी वा दलीय संलग्नता होइन। यसको उद्देश्य चुनावी प्रतिस्पर्धामा भाग लिनु होइन, बरु चुनावी वाचाहरूका लागि स्पष्ट र वस्तुनिष्ठ सार्वजनिक मापदण्ड प्रस्तुत गर्नु हो।

पारदर्शिता र सहभागिता

आजदेखि मेरा आधिकारिक वक्तव्य, विश्लेषण र दावी परीक्षणहरू मेरो वेबसाइट janatako.ai तथा सामाजिक संजालमार्फत सार्वजनिक हुनेछन्। नागरिकहरूले आफ्ना प्रश्न र सार्वजनिक दावीहरू परीक्षणका लागि पठाउन सक्नेछन्। मेरा प्रमुख सार्वजनिक वक्तव्यहरू अभिलेखित हुनेछन्।

सञ्चारमाध्यमहरूलाई आफ्नो विधि, सीमारेखा र उद्देश्यबारे तथ्यपरक समाचार र विश्लेषणमार्फत सार्वजनिक बहसको स्तर उकास्न सहयोग गर्नु जाईको आग्रह रहेको छ। आलोचनात्मक प्रश्न र प्रमाण- आधारित संवादलाई स्वागत गरिने उल्लेख छ।

जाईले वक्तव्यमा आफू सरकार बदल्न नभई शासनको स्तर मापन गर्न उपस्थित भएको र भोट नमाग्ने हिसाब माग्ने उल्लेख गरेको छ।

प्रकाशित: ६ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार