
काठमाडौं ।
अडानी इन्टरप्राइजेजले सन् २०३५ सम्म नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने एआई–रेडी डाटा सेन्टर निर्माण गर्न १०० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले यो लगानीले भारतलाई विश्वव्यापी एआई प्रतिस्पर्धामा बलियो दाबेदार बनाउने विश्वास व्यक्त गरेको छ।
भारतमा पछिल्लो समय एआई पूर्वाधारमा ठूलो लगानी बढ्दै गएको छ। गुगल, अमेजन, मेटा प्लेटफर्म्स र माइक्रोसफ्टजस्ता विश्वव्यापी कम्पनीहरूले लगानी विस्तार गरिरहेका छन्। साथै स्वदेशी कम्पनीहरू रिलायन्स इन्डस्ट्रिज र टाटा कन्सल्टेन्सी सर्भिसेजले पनि एआई क्षेत्रमा सक्रियता बढाएका छन्।
स्वतन्त्र बजार विश्लेषक अम्बरेश बालीगाका अनुसार एआई–तयार डाटा सेन्टरहरू एआई–आधारित वातावरणका लागि महत्वपूर्ण केन्द्र बन्नेछन् र ठूला पूँजी भएका समूहहरू यस्ता पूर्वाधार निर्माणतर्फ अघि बढ्नु स्वाभाविक हो।
उनले रिलायन्स र अडानी समूहजस्ता कम्पनीहरूले भविष्यमा ठूलो प्रभाव पार्ने एआई प्रविधिमा अवसर समात्न तीव्र गति अपनाइरहेको बताए।
अडानीका अनुसार यो १०० अर्ब डलर लगानीले सर्भर उत्पादन र सार्वभौम क्लाउड प्लेटफर्मलगायत सम्बन्धित उद्योगहरूमा थप १५० अर्ब डलर बराबरको गतिविधि सिर्जना गर्नेछ। यसले आगामी दशकमा भारतमा करिब २५० अर्ब डलर बराबरको एआई पूर्वाधार इकोसिस्टम निर्माण हुने अनुमान गरिएको रोयटर्सले उल्लेख गरेको छ।
घोषणापछि अडानी इन्टरप्राइजेजको सेयर मूल्य २.७ प्रतिशतले बढेर निफ्टी ५० सूचकांकमा सबैभन्दा धेरै वृद्धि गर्ने सेयर बनेको छ।
हालसम्म ठूला चिप उत्पादन क्षमताको अभावका कारण एआई बूममा भारत पछाडि देखिएको थियो। तर डाटा सेन्टर निर्माण भारतका लागि विश्व मञ्चमा आफ्नो उपस्थिति देखाउने प्रमुख अवसरका रूपमा हेरिएको छ। कम्पनीका अनुसार यो लगानीले नवीकरणीय ऊर्जा, विद्युत् सञ्जालको स्थायित्व र एआई कम्प्युटिङलाई जोड्ने मोडेल विकास गर्नेछ।
समूहका अध्यक्ष गौतम अडानीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, “दशकौंसम्म हामीले प्रविधि आयात गर्यौं, अब हामी आधारभूत संरचना आफैं निर्माण गरिरहेका छौं। “भारत एआई शताब्दीलाई पछ्याउने छैन, त्यसलाई आकार दिनेछ।”
अडानी समूहले हालको २ गिगावाट डाटा सेन्टर क्षमतालाई बढाएर ५ गिगावाट पुर्याउने योजना बनाएको छ, जसले विश्वकै सबैभन्दा ठूलो एकीकृत डाटा सेन्टर प्लेटफर्म बनाउने लक्ष्य राखिएको छ तर समयसीमा खुलाइएको छैन।
यस बाहेक कम्पनीले आफ्नो नवीकरणीय ऊर्जा पोर्टफोलियो विस्तार गर्न ५५ अर्ब डलर लगानी गर्ने जनाएको छ जसमा विश्वकै ठूलोमध्ये एक ब्याट्री ऊर्जा भण्डारण प्रणाली पनि समावेश हुनेछ।
अडानीको गुगलसँग पहिले नै साझेदारी छ। गुगलले भारतमा आफ्नो सबैभन्दा ठूलो लगानीअन्तर्गत पाँच वर्षमा १५ अर्ब डलर लगानी गरी एआई डाटा सेन्टर निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीले वालमार्ट समर्थित फ्लिपकार्टसँगको सहकार्य विस्तार गरी दोस्रो एआई डाटा सेन्टर विकास गर्ने पनि जनाएको छ। साथै अन्य प्रमुख कम्पनीहरूसँग भारतभर ठूला एआई क्याम्पस स्थापना गर्न छलफल भइरहेको बताइएको छ, तर थप विवरण सार्वजनिक गरिएको छैन।
प्रकाशित: ६ फाल्गुन २०८२, बुधबार