
काठमाडौं ।
नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले पूर्वसञ्चारमन्त्री एवं एमालेका हालका उम्मेदवार पार्वत गुरुङको आफ्नै गाउँमा टेलिफोन टावर ल्याइदिने प्रतिबद्धता जनाएका छन्। चुनावी अभियानका क्रममा गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५, सुरी पुगेका शिवाकोटीले त्यहाँ मोबाइल नेटवर्कको गम्भीर समस्या भोगेपछि संसद भएर गएपछि यो प्रतिबद्धता पूरा गर्ने वाचा गरेका हुन्।
सुरी पुग्दा आफ्नो गाडीमा केही समस्या आएको र पछाडि छुटिरहेका साथीहरूलाई सम्पर्क गर्न खोज्दा मोबाइलमा नेटवर्क नभएर फोन नलागेको अनुभव उनले सुनाए । शिवाकोटीले भने, “हामी यात्रामा थियौँ, गाडी कहाँ छ भनेर बुझ्न खोज्दा मोबाइलमा सिग्नल नै थिएन। यस्तो ठाउँमा सञ्चारको यो हालत देख्दा मलाई अचम्म लाग्यो ।”
स्थानीय बासिन्दाका अनुसार सुरी क्षेत्र चारैतिर डाँडाले घेरिएकाले चरीकोट वा हनुमन्ते डाँडाका टावरले यहाँ काम गर्दैनन्। नेटवर्क खोज्नकै लागि डाँडाकाँडा धाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ।
उनले भने “यहाँ चाहिँ चारैपट्टी डाँडा छ। हनुमन्ते डाँडाँको नेटवर्कले भ्याउनुपर्ने कि चरीकोटकोले भ्याउनुपर्ने समस्या छ । कहीँ टावर वरपर देखिँदैन । त्यो समस्याले गर्दा टावर पनि छैन । हाम्रो मोवाइलमा नेटवर्क नै आउँदैन । हामीले नेटवर्क कहाँ छ भनेर खोज्न जानुपर्ने अवस्था छ ।”
एक वृद्धाले हातमा मोबाइल बोकेर गीत सुन्न मात्रै ठिक्क भएको भन्दै नेटवर्क आक्कलझुक्कल मात्रै आउने सुनाइन् । अर्का स्थानीयले सञ्चार मात्र नभई यो क्षेत्रमा बस सेवासमेत नपुगेको गुनासो गरे।
गौरिशंकर वडा नम्बर ५ सुरी पूर्व संचारमन्त्री पार्वत गुरुङको आफ्नो गाउँ हो । तर संचारमन्त्री भैसकेको मानिसको गाउँमै टेलिफोनको असुविधा, नेटवर्कका कारण संचार सम्पर्क नहुने अवस्था छ । सञ्चार मन्त्रालय सम्हालिसकेका व्यक्तिकै गाउँमा अहिलेसम्म टेलिफोनको असुविधा हुनु दुःखद रहेको शिवाकोटीले बताए ।
उनले भने, “म प्रतिनिधि सभाको उम्मेदवार छु । म जितेर गएपछि गर्ने पहिलो काम नै सुरी र यस आसपासका क्षेत्रलाई टेलिफोन नेटवर्कमा जोड्ने हुनेछ। म पार्वत दाइलाई समेत सहजै फोन गर्न मिल्ने गरी सञ्चार मन्त्रालय र नेपाल टेलिकमसँग समन्वय गरेर अर्को वर्ष यहाँ टावर ठड्याउने छु। यो मेरो प्रतिबद्धता हो।”
प्रकाशित: ५ फाल्गुन २०८२, मंगलवार