
काठमाडौं ।
अमेरिकाको संघीय सञ्चार नियोग (एफसीसी) ले अमेजनको लो-अर्थ अर्बिट (एलईओ) स्याटेलाइट परियोजनालाई थप ४ हजार ५०० स्याटेलाइट प्रक्षेपण गर्न अनुमति दिएको छ।
एफसीसीले अमेजन एलईओको ३,२१२ वटा जेन २ स्याटेलाइट र पृथ्वीका ध्रुवीय हिमक्षेत्रमाथि सञ्चालन हुने थप १,२९२ स्याटेलाइट प्रक्षेपण आवेदन स्वीकृत गरेको हो। यसअघि कम्पनीले ३,२३२ वटा जेन १ स्याटेलाइट प्रक्षेपण प्रक्रिया अघि बढाइरहेको छ।
यसैक्रममा बिहीबार फ्रेन्च गायनाबाट थप ३२ स्याटेलाइट एरियन ६ रकेटमार्फत प्रक्षेपण गर्ने तालिका रहेको छ। थप बुस्टरसहित उडान भर्ने उक्त रकेटमा कुल चार बुस्टर रहनेछन्।
एफसीसीले जेन १ स्याटेलाइटलाई थप केए र भी-ब्यान्ड फ्रिक्वेन्सी प्रयोग गर्न पनि अनुमति दिएको छ जसले उच्च डाटा थ्रुपुट सम्भव बनाउनेछ। जेन२ र पोलर कन्स्टेलेसनले केयु, केए र भी ब्यान्डमा सञ्चालन गर्नेछन्।
कम्पनीलाई अमेरिकाभित्र उच्च पावरमा स्याटेलाइट सञ्चालन गर्न स्वीकृति दिइए पनि अन्य स्थानमा इक्विभ्यालेन्ट पावर फ्लक्स डेन्सिटी (ईपीएफडी) नियम पालना गर्नुपर्नेछ। नयाँ लाइसेन्सअनुसार अमेजनले आफ्नो जेन २ र पोलर कन्स्टेलेसनको ५० प्रतिशत स्याटेलाइट १० फेब्रुअरी २०३२ भित्र प्रक्षेपण गर्नुपर्नेछ। बाँकी आधा २०३५ को सोही मितिभित्र कक्षामा पठाइसक्नुपर्नेछ।
यी सबै पूरा भएपछि अमेजन एलईओसँग कुल ७,७३६ स्याटेलाइटको कन्स्टेलेसन हुनेछ। लाइसेन्स १५ वर्षका लागि मान्य हुनेछ र पहिलो स्याटेलाइट कक्षामा पुगेपछि लागू हुनेछ।
अमेजन एलईओका उपाध्यक्ष राजीव बड्यालले लिंक्डइनमार्फत एफसीसी अध्यक्ष ब्रेन्डन कारलाई धन्यवाद दिँदै नयाँ स्याटेलाइटले थप क्षमता, विस्तारित कभरेज (ध्रुवीय क्षेत्रसहित) र उच्च थ्रुपुट उपलब्ध गराउने बताएका छन्। उनका अनुसार यसले विशेषगरी ठूलो परिमाणमा डाटा स्थानान्तरण गर्न चाहने उद्यम र सरकारी ग्राहकलाई लाभ पुग्नेछ।
तर स्याटेलाइट सङ्ख्याको हिसाबले अमेजन एलईओले अझै प्रतिस्पर्धी स्पेसएक्सको स्टारलिङ्कसँग बराबरी गर्न धेरै दूरी तय गर्न बाँकी छ। हाल स्टारलिङ्कका १० हजारभन्दा बढी स्याटेलाइट कक्षामा छन्।
एक महिनाअघि मात्र ईलन मस्कको कम्पनीले थप ७,५०० जेन २ स्टारलिङ्क स्याटेलाइट प्रक्षेपणका लागि एफसीसी स्वीकृति पाएको थियो, जसपछि सक्रिय जेन २ स्याटेलाइट संख्या करिब १५ हजार पुग्नेछ। साथै कम्पनी थप करिब १५ हजार स्याटेलाइट प्रक्षेपण अनुमति पर्खाइमा छ।
आगामी दिनमा अमेजन लियोले अनपेक्षित प्रतिस्पर्धा पनि सामना गर्न सक्छ। ब्लू ओरिजिनले हालै आफ्नै स्याटेलाइट सञ्जाल योजना सार्वजनिक गरेको छ। अमेजनका प्रमुख सेयरधनी जेफ बेजोसको स्वामित्वमा रहेको यस कम्पनीले एलईओ र एमईओ स्याटेलाइटको मिश्रण प्रयोग गरी आरएफ र अप्टिकल कनेक्टिभिटी प्रदान गर्ने लक्ष्य राखेको छ।
टेरावेभ नाम दिइएको उक्त सञ्जालमा अन्ततः ५,४०८ स्याटेलाइट हुनेछन् र ठूलो उद्यम तथा सरकारी ग्राहकलाई लक्षित गरिनेछ। आरएफ कनेक्टिभिटी अधिकतम १४४ जीबीपीएस र अप्टिकल कनेक्टिभिटी ६ टीबीपीएससम्म पुग्ने बताइएको छ। अप्टिकल स्याटेलाइट प्रविधि हालै प्रारम्भिक चरणमै रहेकाले व्यावसायिक सेवा सुरु हुनुअघि यसबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
प्रकाशित: ३ फाल्गुन २०८२, आईतवार