टी-मोबाइल यूएसले पोस्टपेड फोनका ग्राहक थप्ने मामिलामा प्रतिस्पर्धीलाई उछिन्यो

  • Technology Khabar | २ फाल्गुन २०८२, शनिबार
टी-मोबाइल यूएसले पोस्टपेड फोनका ग्राहक थप्ने मामिलामा प्रतिस्पर्धीलाई उछिन्यो
फाइल तस्बिर

काठमाडौं ।

टी-मोबाइल यूएसले फेरि एकपटक त्रैमासिक पोस्टपेड फोन ग्राहक थप्ने मामिलामा प्रतिस्पर्धीलाई उछिनेको छ। तर नतिजा केही विश्लेषकको अपेक्षाभन्दा कमजोर देखिएको छ।

गत वर्षको चौथो त्रैमासमा कम्पनीले ९६२,००० पोस्टपेड फोन ग्राहक थप्यो र सन् २०२५ भरिमा कुल ३.३ मिलियन नयाँ पोस्टपेड ग्राहक जोड्यो।

टेलिकम्स डटकमका अनुसार यो सङ्ख्या एटीएण्डटी भन्दा धेरै हो जसले चौथो त्रैमासमा ४ लाख २१ हजार पोस्टपेड फोन ग्राहक थपेको थियो। एटीएण्डटीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा कमी आएको तथ्यलाई ठूलो रूपमा नलिएर अब फिक्स्ड र मोबाइल सेवा जोडिएका ‘कन्भर्ज्ड’ ग्राहकमा ध्यान केन्द्रित गरेको जनाएको छ।

उता भेराइजनले सोही त्रैमासमा ६ लाख १६ हजार पोस्टपेड फोन नेट एड्स रिपोर्ट गरेको छ जुन अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा उल्लेखनीय वृद्धि हो र २०१९ यताकै उत्कृष्ट प्रदर्शन हो। सीएनबीसीका अनुसार फ्याक्टसेटका विश्लेषकहरूले भेराइजनको अनुमानभन्दा करिब २ लाख कम नेट एड्स हुने प्रक्षेपण गरेका थिए।

तर फ्याक्टसेटको तथ्याङ्क उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले बजारले टी-मोबाइल यूएसबाट ९ लाख ८१ हजार ३ सय पोस्टपेड फोन नेट एड्सको अपेक्षा गरेको जनाएको छ जुन कम्पनीले पूरा गर्न सकेन।

नोभेम्बरमा पदभार सम्हालेका नयाँ सीईओ श्रीनी गोपालनले पहिलो कमाइ प्रतिवेदन प्रस्तुत गर्दै सन् २०२५ मा पहिलेभन्दा धेरै नयाँ पोस्टपेड ग्राहकले ‘अन-क्यारियर’ रोजेको दावी गरे।

तर अब ध्यान फिक्स्ड व्यवसायतर्फ सर्दै गएको देखिन्छ। एटीएण्डटी र भेराइजन दुवैले भविष्यमा फिक्स्ड र मोबाइल सेवा संयोजनलाई वृद्धि रणनीतिका रूपमा अघि बढाइरहेका छन्।

फाइबर क्षेत्रमा भने टी-मोबाइल यूएस प्रतिस्पर्धीभन्दा पछाडि छ। कम्पनीले २०३० सम्म ३० लाखदेखि ४० लाखसम्म फाइबर ब्रडब्यान्ड ग्राहक बनाउने लक्ष्य लिएको छ। चौथो त्रैमासमा ६३,००० फाइबर नेट एड्स र सन् २०२५ भरिमा १३६,००० थपिए पनि कुल ग्राहक आधार सार्वजनिक गरिएको छैन।

ल्युमोस र मेट्रोनेटजस्ता अधिग्रहणमार्फत थपिएका ग्राहकसमेत जोड्दा यसको कुल फाइबर ग्राहक संख्या करिब १० लाख आसपास रहेको अनुमान गरिएको छ।

कम्पनीले २०३० सम्म फाइभजी ब्रोडब्यान्ड (फिक्स्ड वायरलेस एक्सेस–एफडब्लूए) ग्राहक १ करोड ५० लाख पुर्‍याउने नयाँ लक्ष्य पनि सार्वजनिक गरेको छ, जुन अघिल्लो २०२८ सम्म १ करोड २० लाखको लक्ष्यभन्दा फरक हो।

सन् २०२५ अन्त्यसम्म यसका ८५ लाख एफडब्लूए ग्राहक थिए र वर्षभरिमा १९ लाख थपिएका थिए। १५ मिलियन पुर्‍याउन अब हरेक वर्ष करिब १३ लाख ग्राहक थप्नुपर्नेछ।

वित्तीय पक्षमा कम्पनीको सेवा राजस्व चौथो त्रैमासमा १० प्रतिशत र समायोजित एबिटा अर्थात् ब्याज र करकट्टी नगरिएको आम्दानी ७ प्रतिशतले बढेको छ। तर प्रति सेयर आम्दानी वार्षिक आधारमा घटेको छ र विश्लेषकको अपेक्षा पूरा गर्न सकेन।

मूल कम्पनी डोयच टेलिकमले यस वर्ष टी-मोबाइल यूएसका सेयर नबेच्ने जनाएको छ। हाल डोयचे टेलिकमको ५२.८ प्रतिशत स्वामित्व रहेको छ। अब उद्योग पर्यवेक्षकहरूको चासो मुख्य रूपमा टी-मोबाइल यूएसको फिक्स्ड व्यवसायको वृद्धितर्फ केन्द्रित हुने देखिएको छ।

प्रकाशित: २ फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...