
काठमाडौं ।
डिजिटल राइट्स नेपाल (डिआरएन)ले विश्वव्यापी बहु–पक्षीय सञ्जाल ग्लोबल नेटवर्क इनिसिएटिभ (जीएनआई) को सदस्यता प्राप्त गरेको छ। डिजिटल राइट्स नेपाल (डिआरएन) डिजिटल अधिकार, अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताको संरक्षण तथा प्रवर्द्धनमा कार्यरत संस्था हो।
जीएनआई विश्वभरका नागरिक समाज सङ्गठन, प्रविधि कम्पनी, लगानीकर्ता तथा शैक्षिक संस्थाहरूलाई एकै मञ्चमा ल्याई प्रविधि क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र प्रयोगकर्ताको गोपनीयताको सम्मान सुनिश्चित गर्न कार्य गर्दै आएको अन्तर्राष्ट्रिय सञ्जाल हो।
डिजिटल राइट्स नेपालको सदस्यतासँगै अब नेपालबाट डिजिटल अधिकारसम्बन्धी मुद्दाहरू अन्तर्राष्ट्रिय नीतिगत छलफल र सहकार्यका मञ्चमा थप सुदृढ रूपमा प्रस्तुत हुने बताईएको छ।
ग्लोबल नेटवर्क इनिसिएटिभसँगको डिजिटल राइट्स नेपालको आबद्धता डिजिटल अधिकारको अन्तर्राष्ट्रिय वकालतका लागि समेत एक महत्त्वपूर्ण पहलकदमी हो। यसले अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र प्लेटफर्म उत्तरदायित्वलाई केन्द्रमा राख्दै अधिकार–मैत्री प्रविधि शासन प्रवर्द्धन गर्न र विशेषतः ग्लोबल साउथका दृष्टिकोणहरूलाई अगाडि ल्याउन अन्तर्राष्ट्रिय सहकार्यलाई थप सशक्त बनाउनेछ। सदस्यको रूपमा DRN ले नीति समिति (Policy Committee) र लर्निङ समिति (Learning Committee) मार्फत जीएनआईका गतिविधिहरूमा सक्रिय सहभागिता जनाउनेछ।
नेपालबाट जीएनआईमा आबद्ध पहिलो संस्था डिजिटल राइट्स नेपाललाई सदस्यका रूपमा स्वागत समेत गरेको छ।
जीएनआई सदस्यताले डीआरएनका राष्ट्रिय प्रयासहरूलाई अन्तर्राष्ट्रिय सञ्जाल र सहकार्यसँग जोड्ने विश्वास लिइएको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १ फाल्गुन २०८२, शुक्रबार