
काठमाडौं ।
टी–मोबाइल यूएसले नेटवर्क स्तरमै काम गर्ने एआई प्रयोग गरेर भाषा अवरोध हटाउने नयाँ सेवा सार्वजनिक गरेको छ।
‘लाइभ ट्रान्सलेसन’ नाम दिइएको यो सेवा पूर्ण रूपमा नेटवर्कमा आधारित छ। यसका लागि कुनै विशेष उपकरण आवश्यक पर्दैन, कुनै एप डाउनलोड गर्नुपर्दैन र सेवा चल्न दुवै जनामध्ये एक जना मात्र टी–मोबाइल ग्राहक भए पुग्छ।
प्रयोगकर्ताले कलको क्रममा ८७ डायल गरेपछि यो सुविधा सक्रिय हुन्छ। त्यसपछि ५० फरक भाषामध्ये कुनै एक भाषामा अनुवाद गर्न सकिन्छ। प्यू रिसर्चका तथ्यांकअनुसार करिब ६ करोड अमेरिकी बहुभाषिक परिवारमा बसोबास गर्छन्। त्यसैले यो सेवा उपयोगी हुन सक्ने बताइएको छ। साथै, यो २१५ भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा गरिने कलमा पनि काम गर्छ।
“वायरलेस ग्राहकले भोग्ने सबैभन्दा ठूलो समस्या कहिलेकाहीँ सबैभन्दा साधारण हुन्छ – जस्तै एक–अर्कालाई बुझ्न नसक्नु,” टि–मोबाइलका सीईओ श्रीनी गोपालनले भने। “जब भाषा बाधा बन्छ, नेटवर्क केवल सिग्नलमा सीमित हुन्छ। तर हामी त्यस्तो होइनौं। वास्तविक समयमा एआईलाई सीधै नेटवर्कमा ल्याएर हामी केवल कनेक्टिभिटीभन्दा बढी सेवा दिइरहेका छौं – कुराकानीलाई समुदायमा रूपान्तरण गर्दै, लाइभ ट्रान्सलेसनबाट सुरु गर्दै।”
हाल यो सेवाको निःशुल्क बीटा संस्करणका लागि दर्ता खुला गरिएको छ, तर केवल पोस्टपेड ग्राहकका लागि। यो कहिले सबैका लागि उपलब्ध हुन्छ र शुल्क लाग्छ वा लाग्दैन भन्नेबारे जानकारी दिइएको छैन।
कल सुनेर काम गर्ने सेवामा निगरानी वा सेन्सरशिपको आशंका पनि उठ्न सक्छ। कम्पनीले यसबारे सचेत रहेको जनाउँदै “तपाईंले जे भन्नुहुन्छ, त्यही उनीहरूले सुन्छन् – कुनै सेन्सरशिप वा सम्पादन बिना” काम गर्ने दावी गरेको छ।
लाइभ ट्रान्सलेसन सार्वजनिक हुनु टी–मोबाइलको व्यापक एआई रणनीतिअन्तर्गत अर्को महत्वपूर्ण कदम मानिएको छ। सन् २०२४ को क्यापिटल मार्केट्स डेमा पूर्व सीईओ माइक सिवर्टले कम्पनीले एनभिडिया, एरिक्सन र नोकियासँग मिलेर एआई–आरएएन प्रविधि विकास गर्ने र ओपनएआईसँग सहकार्य गरेर ग्राहक अनुभव सुधार गर्ने योजना सार्वजनिक गरेका थिए।
लाइभ ट्रान्सलेसन ती दुवै क्षेत्रमा सिधै नपरे पनि समान उद्देश्यबाट विकसित भएको देखिन्छ।
“लाइभ ट्रान्सलेसनले वायरलेस सेवा प्रदायकको भूमिकालाई नयाँ ढंगले सोच्दा के सम्भव हुन्छ भन्ने देखाउँछ,” टी–मोबाइलका प्रविधि प्रमुख तथा सीटीओ जोन साले भने। “हामीले वर्षौंअघि ५जीमा ठूलो लगानी गरेर यात्रा सुरु गरेका थियौं। अहिले राष्ट्रव्यापी ५जी एडभान्स्ड आधार बनेपछि हामी नेटवर्कमै प्रत्यक्ष रूपमा वास्तविक समयको एआई सेवा चलाउन सक्षम भएका छौं, र लाइभ ट्रान्सलेसन ग्राहकका लागि एआई–आधारित नयाँ युगको सुरुवात हो।”
प्रविधि कम्पनीहरूले एआईलाई धेरै प्रचार गरिएको भन्दै विशेष गरी यसका कमजोरीहरू देखिँदा वा मानव सिर्जनशीलताको सट्टा प्रयोग हुँदा आलोचना हुने गरेको छ। तर योजना अनुसार काम गरेमा लाइभ ट्रान्सलेसन उपभोक्ताका लागि साँच्चै उपयोगी एआई प्रयोग हुन सक्ने देखिन्छ।
प्रकाशित: १ फाल्गुन २०८२, शुक्रबार