बाइटडान्सको नयाँ एआई भिडियो मोडल भाइरल

  • Technology Khabar | १ फाल्गुन २०८२, शुक्रबार
बाइटडान्सको नयाँ एआई भिडियो मोडल भाइरल

काठमाडौं ।

चीनले दोस्रो ‘डीपसीक’ क्षण खोजिरहेका बेला बाइटडान्सको नयाँ एआई भिडियो मोडल भाइरल भएको छ।

बाइटडान्सले सार्वजनिक गरेको नयाँ भिडियो उत्पादन गर्ने कृत्रिम बुद्धिमत्ता मोडलले इलन मस्कजस्ता व्यक्तिलाई प्रभावित बनाएको छ भने चीनमा यो भाइरल बनेको छ। थोरै निर्देशन दिएर सिनेमाजस्तो कथा बनाउन सक्ने क्षमताका कारण यसलाई डीपसीकसँग तुलना गरिएको छ।

रोयटर्सका अनुसार ओपनएआईको च्याटजीपीटी र डीपसीकको आर१ जस्ता पाठमा आधारित एआई मोडलहरू व्यापक रूपमा प्रयोगमा आए पनि भिडियो र तस्बिर बनाउन विशेषीकृत मोडलहरूलाई प्रविधिको अर्को ठूलो चरणका रूपमा हेरिएको छ।

बाइटडान्सले बिहीबार ‘सिडान्स २.०’ सार्वजनिक गरेको हो। कम्पनीले विज्ञप्तिमा यो प्रणाली व्यावसायिक फिल्म, ई–कमर्स र विज्ञापन निर्माणका लागि डिजाइन गरिएको जनाएको छ। यसले पाठ, तस्बिर, अडियो र भिडियो एकै पटक प्रशोधन गर्न सक्ने भएकाले सामग्री उत्पादन लागत घटाउने बताइएको छ।

यो उत्पादन सार्वजनिक हुनु चीन र विश्वभरका लगानीकर्ताले डीपसीकको आर१ र भि३ मोडलपछि अर्को सफल चिनियाँ एआई खोजिरहेका बेला भएको हो। सन् २०२५ को सुरुआतमा डीपसीकको विश्वव्यापी सार्वजनिक प्रदर्शनले ठूलो प्रभाव पारेको थियो।

चीनको सामाजिक सञ्जालमा सिडान्स २.० लाई डीपसीकको जस्तै तीव्र लोकप्रियतासँग तुलना गरिएको छ।

चीन सरकार समर्थित पत्रिका ग्लोबल टाइम्सले बुधबारको सम्पादकीयमा लेखेको छ, “गत वर्षको सुरुमा डीपसीक–आर१ को सार्वजनिक प्रदर्शनले अमेरिकाको प्रविधि क्षेत्रमा ‘स्पुतनिक क्षण’ जस्तो बहस सुरु गरेको थियो। यस वर्ष सिडान्स २.० र यस्तै नवीनताले थप सफलता पाउँदै सिलिकन भ्यालीमा चीनप्रति प्रशंसा बढाएको छ।”

विश्वकै धनी व्यक्ति एलन मस्कले पनि आफ्नो सामाजिक सञ्जाल एक्समा मोडलको प्रशंसा गरिएको पोस्टमा प्रतिक्रिया दिँदै “यो निकै छिटो भइरहेको छ” टिप्पणी गरेका छन्।

चीनको वेइबो माइक्रोब्लगिङ प्लेटफर्ममा प्रयोगकर्ताहरूले सिडान्स २.० बाट बनाइएका भिडियोहरू साझा गरेका छन्, जसमा अनौठा निर्देशन दिँदा पनि जटिलता र उच्च गुणस्तर देखिएको छ।

करिब २ मिनेट लामो एक भिडियो, जसलाई वेइबोमा झन्डै १० लाख पटक हेरिएको छ, पूर्व नाम कान्ये वेस्ट रहेका र्‍यापर तथा रेकर्ड निर्माता ये र रियालिटी टिभी स्टार किम कार्दासियनलाई प्राचीन चिनियाँ दरबार कथामा पात्रका रूपमा देखाइएको छ। उनीहरू मन्दारिन भाषामा बोल्ने र गाउने दृश्य देखाइएको छ।

सिडान्स २.० सम्बन्धी ह्यासट्यागहरू वेइबोमा करोडौं पटक क्लिक भएका छन्। राज्य स्वामित्वको बेइजिङ डेलीले समेत “डीपसीकदेखि सिडान्ससम्म, चीनको एआई सफल भयो” भन्ने ह्यासट्याग प्रयोग गरेको छ।

प्रकाशित: १ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार