दक्षिण कोरियाको बिटहम्बले बुधबार आफ्नो आन्तरिक प्रणालीमा गम्भीर कमजोरी रहेको र त्यसका कारण क्रिप्टो एक्सचेन्ज सम्भावित तोडफोडप्रति असुरक्षित बनेको तथा गत साता ४० अर्ब डलरभन्दा बढी सम्पत्ति गलत रूपमा स्थानान्तरण हुनबाट रोक्न असफल भएको जनाएको छ।
देशको दोस्रो ठूलो भर्चुअल सम्पत्ति एक्सचेन्जले एक प्रचार कार्यक्रममा ६ लाख २० हजार वोन (४२६ डलर) दिनुपर्नेमा गल्तीवश करिब ६ लाख २० हजार बिटक्वाइन ग्राहकलाई पठाएको जनाएको छ। यस घटनापछि बिटक्वाइनको मूल्य १७ प्रतिशतले घटेको थियो।
बिटहम्बका प्रमुख कार्यकारी अधिकृत ली जे–वनले उक्त वितरण एक्सचेन्जसँग रहेको ४२ हजार बिटक्वाइनको भण्डारभन्दा १५ गुणा बढी भएको बताए। करिब २४ घण्टासम्म कारोबार प्रशोधनमा ढिलाइ हुँदा भर्चुअल सम्पत्तिको मौज्दात अद्यावधिक हुन नसक्नु यसको मुख्य कारण रहेको उनले बताए।
शुक्रबार भएको घटनाबारे संसद् समितिको सुनुवाइमा उनले भने, “हामी आन्तरिक प्रणाली नियन्त्रणको कमजोरीप्रति पूर्ण रूपमा सचेत छौं।”
लीका अनुसार स्थानान्तरण गरिने रकमलाई वास्तविक भण्डारसँग मिलान गर्ने एक्सचेन्जको नीति असफल भएको थियो। साथै कारोबार सुरक्षित राख्न उक्त रकम छुट्टै खातामा सुरक्षित राखिएको पनि थिएन।
नियामक निकायका अनुसार अधिकांश बिटक्वाइन फिर्ता ल्याइएको छ। तर एक्सचेन्जले खाता रोक्का गर्नु अघि केही मिनेटमै १,७८६ बिटक्वाइन बिक्री भइसकेका थिए।
ती बिटक्वाइन बिक्री गर्ने ग्राहकहरूलाई कानुनी रूपमा फिर्ता गर्नुपर्ने नियामकहरूले बताएका छन्।
संसद् सदस्यहरूले विश्वमै कारोबार परिमाणका हिसाबले सक्रिय मानिने दक्षिण कोरियाको भर्चुअल सम्पत्ति बजारमा सरकारी र कम्पनीस्तरको निगरानी असफल भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
वित्तीय पर्यवेक्षण सेवा (एफएसएस) का गभर्नर ली चान–जिनले आफूले भर्चुअल मुद्रा बजार पनि बैंक तथा अन्य वित्तीय संस्थाझैँ कडा नियमनमा हुनुपर्छ भन्ने व्यक्तिगत धारणा राखे पनि विद्यमान कानुनअनुसार त्यो सम्भव नभएको बताएका छन्।
