
काठमाडौं ।
नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र दिगो डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यको साथ नेपालमै बनेको एआई समर्थित एकीकृत डिजिटल इकोसिस्टमको रुपमा ग्लोबल डायरी सञ्चालनमा आएको छ।
काठमाण्डौँको बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा आम नागरिक, व्यवसायी र सरकारी निकायलाई लक्षित गरी ग्लोबल डायरी नामक डिजिटल प्लेटफर्म अभ्यासमा ल्याइएको हो।
यो डिजिटल इकोसिस्टमले नागरिकलाई प्रमाणित सेवा प्रदायक खोज्न, समीक्षा हेर्न र आफ्ना आवश्यकताअनुसार निर्णय गर्न सहयोग गर्ने जनाइएको छ। साथै व्यवसायलाई आफ्नो डिजिटल उपस्थितिलाई वेभसाइट स्तरमा पुर्याउने, बजारीकरणको खर्च घटाउने र ग्राहकसँग प्रत्यक्ष संवाद गर्ने सुविधा प्रदान गर्दछ।
देशले सबै कुराहरु आयातित गरिरहेको अवस्थामा विश्वलाई केही कुराहरु प्रदान गर्ने उद्देश्यले नेपालबाट सबैको हात–हातमा पुग्न सक्ने डायरीको रुपमा डिजिटल प्लेटफर्ममा ग्लोबल डायरी सञ्चालनमा ल्याइएको ग्लोबल डायरीका डाइरेक्टर तथा बोर्ड मेम्बर कृष्ण सापकोटाले बताए। कार्यक्रममा सापकोटाले हाल ग्लोबल डायरीको सदश्य पाँच लाख रहेको जानकारी दिए।
ग्लोबल डायरीका अध्यक्ष शेखर अर्यालले आजको डिजिटल युगमा देशले अन्तरराष्ट्रियस्तरमा आफ्नो पहुँच विस्तार गर्ने गरी विकास गरिएको ग्लोबल डायरी राष्ट्रिय गौरव गर्ने एउटा प्लेटफर्म भएको र यसले उपभोक्ता, व्यवसायी, मिडिया र सरकार सबैलाई लाभ पुग्ने हुँदा यसमा आवद्ध हुन सबैलाई आग्रह गरेका छन्।
ग्लोबल डायरीका प्रमुख कार्यकारी निर्देशक एवं संस्थापक भगवानदास अग्रहरिले यो प्लेटफर्म केवल एक सामाजिक सञ्जाल, ई–कमर्स पोर्टल वा रोजगार प्लेटफर्म मात्र नभई समग्र डिजिटल इको–सिस्टम भएको बताएका छन्।
उन्नत एआई प्रयोगले प्रयोगकर्तालाई सान्दर्भिक सेवाहरु, रोजगारी सिफारिस र प्रमाणित स्थानीय व्यवसाय पत्ता लगाउन मद्दत गर्न, नक्कली गतिविधि रोक्ने, तथ्याङ्कको गोपनियता राख्ने भएकाले सुरक्षित, भरपर्दो र बहुउपयोगी प्लेटफर्म भएको उनले दावी गरे।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा विनोद आत्रेयले सबै किसिमका सोसल मिडियाका विशेषताहरुलाई एकीकृत गरी आम जनतालाई अवसर, व्यापार, सेवामार्फत सङ्गठित गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो प्लेटफर्मको सफलताको कामना गरे।
राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य कृष्ण अधिकारीले मुलुकमा थुप्रै डिजिटल प्लेटफर्महरु सञ्चालनमा रहे पनि भरपर्दो राष्ट्रियस्तरको डिजिटल प्लेटफर्मको कमी महसुस भइरहेको अवस्थामा ग्लोबल डायरीले एउटा विश्वसनीय एकीकृत इकोसिष्टम निर्माण गरेको र यो प्लेटफर्म सञ्चारकर्मीहरुका लागि पनि उत्तिकै उपयोगी रहेको बताए।
प्रकाशित: २८ माघ २०८२, बुधबार