
काठमाडौं ।
बैतडीमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि संवेदनशील देखिएका मतदान स्थलमा सिसिटिभी क्यामरा राख्ने तयारी भएको छ।
बैतडीमा ३३ वटा अतिसंवेदनशील र २५ संवेदनशील गरेर ६१ वटा मतदान स्थल सवेदनशील सूचीमा रहेका छन्। जिल्लाभरि १२९ वटा मतदान स्थल रहेका छन्।
जिल्ला सुरक्षा समितिले मतदान स्थल निरीक्षण गर्ने काम जारी राखेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए। उाले अतिसंवेदनशील मतदान स्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम भइरहेको बताए।
अहिलेसम्म ३० भन्दा बढी अतिसंवेदनशील मतदान स्थलको निरीक्षण गरी सिसिटिभी क्यामरा राख्ने तयारी भइरहेको उनले जानकारी दिए।
जिल्लामा १२९ मतदान स्थलमध्ये ३३ वटा अतिसंवेदनशीलको सूचीमा रहेका छन्। यस्तै २५ वटा संवेदनशील र ६५ वटा मतदान स्थल सामान्य सूचीमा रहेका छन्। १० स्थानीय तहमध्ये हालसम्म छ वटाको निरीक्षण सकिएको छ भने डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका मतदान स्थलको निरीक्षण बाँकी रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए।
निरीक्षणका क्रममा मतदान स्थलको सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको अवलोकन गरिएको छ। निर्वाचनका बेला खटिने कर्मचारीको आवास सुविधा, विद्युत्, खानेपानीलगायत आधारभूत कुराको आपूर्तिसम्बन्धी स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाबिच छलफल भएको छ।
जिल्लामा १२९ मतदान स्थलभित्र २१४ वटा मतदान केन्द्र रहेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा यो पटक एक लाख ५६ हजार ३७२ जना अद्यावधिक मतदाता रहेका छन्।
अधिकृतले १७ बुँदे सूचना जारी गर्दै आचारसंहिताको पूर्ण पालना १७ बुँदे सूचना जारी गरेको छ। निर्वाचन आयोगले जिल्लामा प्रमुख कोष नियन्त्रक र सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृत तोकेपछि उनीहरूबाट सूचना जारी भएको हो।
सूचनामा निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न नपाइने, मत सर्वेक्षण गर्न नपाइने, सार्वजनिक स्थलमा आमसभा, जुलुसको आयोजना गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, घरदैलोमा जाँदा २५ जनाभन्दा बढी लैजान नपाइने, राजनीतिक दल र उम्मेदवारले एक जिल्लाबाट अर्को जिल्लामा मतदाता ओसारपसार गर्न नपाइने उल्लेख गरिएको छ।
उम्मेदवारले छुट्टै बैङ्क खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने, बैतडीको हकमा पहिलो हुने निर्वाचित हुने प्रणालीमार्फत उम्मेदवार हुनेको हकमा बढी ३३ लाख रुपियाँ र समानुपातिक उम्मेदवारले बढीमा दुई लाख रुपियाँ मात्रै खर्च गर्न पाइने उल्लेख गरिएको छ।
अनुगमन अधिकृतले जारी गरेको सूचनामा शिक्षण संस्थाको प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला र प्रचार गर्न नपाइने समेत जनाएको छ। आचारसंहिता उल्लङ्घन गरेको पाइएमा कानुन अनुसार कारबाही हुने अनुगमन यसैबिच निर्वाचन आचारसंहिता अनुगमन अधिकृत वासुदेव भण्डारीले बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: २८ माघ २०८२, बुधबार