अब पेन्सनपट्टा बनाउन किताबखाना धाउनु नपर्ने, अनलाइनबाट नै सेवा लिन सकिने

  • Technology Khabar | २८ माघ २०८२, बुधबार
अब पेन्सनपट्टा बनाउन किताबखाना धाउनु नपर्ने, अनलाइनबाट नै सेवा लिन सकिने

काठमाडौं ।

राष्ट्रिय किताबखाना (निजामती) ले भौतिक उपस्थितिबिनै सेवा दिन सुरु गरेको छ। कतिपय सरकारी कार्यालयले प्रदान गर्ने सेवा झन्झटिलो र प्रक्रियामुखी भइरहेको बेला किताबखानाले आफ्ना सबै सेवा बिनाभौतिक उपस्थिति नै सहज बनाउन थालेको हो।

कर्मचारी सेवाबाट अवकाश हुँदा पाउने सबै सुविधाका लागि अब भौतिक रूपमा उपस्थिति भइरहन नपर्ने गरी सेवालाई क्रमिक रूपमा प्रविधिमैत्री बनाउन सुरु गरिएको हो। पेन्सनपट्टा बनाउँदा भौतिक उपस्थितिबिनै बनाउन सकिने व्यवस्था किताबखानाले गरेको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ।

राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलले भने, “सेवाग्राहीको फोटो, हस्ताक्षरलगायत विवरण पिआइएस सिस्टमले नै स्वतः एनआइडी (राष्ट्रिय परिचयपत्र ) को सर्भरबाट सेयरिङ गर्ने छ। व्यक्ति स्वयं आए पनि वा आवश्यक प्रमाण वारेसका रूपमा कसैलाई पठाए पनि हुने गरी सेवालाई सहज सर्वसुलभ र प्रविधिमैत्री बनाइएको छ।”

सेवालाई ‘फेसलेस बनाउन एपिआई ( एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) विकास र प्रयोगमार्फत डिजिटल डाटा सेयरिङ सुनिश्चितता गरिएको एपिआई प्रयोग गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीसँग पिआइएस प्रणाली जोडेर डिजिटल डाटा सेयरिङको व्यवस्था
मिलाइएको छ।

उनले थपे, “आगामी दिनमा सेवाग्राहीको तस्बिर टाँस्नुपर्ने, हस्ताक्षर गर्नुपर्ने परिस्थिति अन्त्य हुँदै छ। यसले सेवालाई सहज र प्रविधिमैत्री बनाएको छ।” केही समयपछि जिल्लाबाटै सेवा पाउने गरी इपेन्सनको गृहकार्यसमेत राष्ट्रिय किताबखानाले गरिरहेको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: २८ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...