
काठमाडौं ।
मेसेजिङ एप टेलिग्रामले रुसमा नयाँ प्रतिबन्ध र जरिवाना झेल्नुपरेको छ। रुसमा सार्वजनिक र निजी सञ्चारका लागि महत्वपूर्ण मानिने टेलिग्राम एपले अधिकारीहरूलाई आपत्तिजनक लाग्ने सामग्री प्रसारण गरेको भन्दै नयाँ प्रतिबन्ध र जरिवाना झेल्नुपरेको राज्य तथा स्वतन्त्र मिडियाले रिपोर्ट गरेका छन्।
आरबीसी समाचार माध्यमका अनुसार सञ्चार नियामक रोसकोम्नाडजोरले मंगलबारदेखि टेलिग्रामको पहुँच सीमित गर्ने योजना बनाएको छ र यसको पहुँच ढिलो बनाउने कदम पहिले नै सुरु भइसकेको छ। नियामकले टिप्पणीको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन।
रुसमा रहेका रोयटर्सका संवाददाताहरूका अनुसार एप अझै चलिरहेको छ तर भिडियो डाउनलोड हुन ढिलो देखिएको छ। टेलिग्रामले पनि टिप्पणीको अनुरोधमा तत्काल प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ।
राज्य समाचार एजेन्सी आरआईएका अनुसार, रुसको कानुनअनुसार हटाउनुपर्ने जानकारी नहटाएको आरोपमा टेलिग्राममाथि आउँदो आठ वटा अदालत सुनुवाइमा अधिकतम ६ करोड ४० लाख रुबल (झण्डै ८ लाख ३० हजार डलर) सम्म जरिवाना हुन सक्नेछ।
रुसी मूलका उद्यमी पाभेल दुरोभले स्थापना गरेको टेलिग्राम सूचना छिटो र ठूलो संख्यामा पुर्याउन प्रयोग हुने माध्यम हो। यसलाई क्रेमलिन, अदालत, सञ्चारमाध्यम, सेलिब्रिटी र निर्वासनमा रहेका विपक्षी समूहसमेतले प्रयोग गर्दै आएका छन्।
तर पछिल्ला महिनाहरूमा अधिकारीहरूले विदेशी प्रविधि प्लेटफर्महरूमाथि नियन्त्रण कडा बनाएका छन्।
रुसले गत अगस्टदेखि टेलिग्राम र ह्वाट्सएपमा केही कलहरू सीमित गर्न थालेको थियो। ठगी र आतंकवादसम्बन्धी मुद्दामा कानुन कार्यान्वयन निकायसँग जानकारी साझा गर्न अस्वीकार गरेको आरोप लगाइएको थियो। डिसेम्बरमा एप्पलको भिडियो कलिङ एप फेसटाइमसमेत ब्लक गरिएको थियो।
यी प्रतिबन्धहरू अझै लागू नै छन्। सरकारले गत वर्ष म्याक्स नामक राज्य-समर्थित प्रतिस्पर्धी एप सुरु गरेको थियो। आलोचकहरूले यसलाई निगरानीका लागि प्रयोग गर्न सकिने बताएका छन् तर राज्य मिडियाले ती आरोपलाई गलत भनेको छ।
यसअघि रुसले सन् २०१८ मा टेलिग्रामलाई ब्लक गर्ने प्रयास गरे पनि असफल भएको थियो।
प्रकाशित: २८ माघ २०८२, बुधबार