
काठमाडौं ।
आज २०८२ माघ २७ गते (१० फेब्रुअरी) विश्वभर ‘Smart Tech, Safe Choices – Exploring the Safe and Responsible Use of AI’– ‘स्मार्ट प्रविधि, सुरक्षित छनोटहरू-एआईको सुरक्षित र जिम्मेवार प्रयोगको खोज’ भन्ने मूल नारासहित सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ।
सुरक्षित इन्टरनेट दिवस हरेक वर्ष फेब्रुअरी महिनामा मनाइन्छ। यसले बालबालिका र युवा वर्गलाई डिजिटल प्रविधिको सुरक्षित, जिम्मेवार र सकारात्मक प्रयोग गर्न प्रोत्साहन गर्दै अनलाइन सुरक्षाबारे राष्ट्रिय स्तरमा संवाद अघि बढाउँछ।
यस अवसरले युवा, अभिभावक तथा हेरचाहकर्ता, शिक्षक, सामाजिक कार्यकर्ता, कानुन कार्यान्वयन निकाय, व्यवसायिक क्षेत्र र नीतिनिर्मातालाई एकै ठाउँमा ल्याई सुरक्षित र राम्रो इन्टरनेट निर्माणका लागि सामूहिक प्रयास गर्न प्रेरित गर्दछ।
नेपालमा बालबालिका र युवा वर्गको अनलाइन सुरक्षा क्षेत्रमा काम गर्दै आएको विशेष संस्था चाइल्डसेफनेटले सुरक्षित इन्टरनेट दिवसको राष्ट्रिय सचिवालयको रूपमा यसको समन्वय र प्रवर्द्धन गर्दै आएको छ।
“सुरक्षित इन्टरनेट दिवस २०२६ ले हामीलाई यो कुरा स्पष्ट रूपमा सम्झाउँछ कि कृत्रिम बुद्धिमत्ता (एआई) बालबालिकाको दैनिक जीवनको हिस्सा बन्दै जाँदा सुरक्षा कहिल्यै पनि दोस्रो प्राथमिकतामा पर्नु हुँदैन। यस वर्षको एआई केन्द्रित सन्देशले सरकार, प्रविधि कम्पनी, शिक्षक र परिवारलाई बालबालिकाको अधिकार, संरक्षण र समग्र कल्याणलाई प्रविधिको डिजाइन र निर्णय प्रक्रियाको केन्द्रमा राख्न आह्वान गर्दछ। एआईले बालबालिकालाई सशक्त बनाउनुपर्छ, जोखिममा पार्न होइन,” चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले भने।
बालबालिका र युवा वर्ग अनलाइन यौन दुर्व्यवहार र शोषण, साइबर बुलिङ, ग्रूमिङ, फिसिङ र एआईको दुरुपयोगबाट हुने हानीको जोखिममा छन्। यी समस्यालाई समाधान गर्न सुरक्षित प्रविधि, शिक्षा र सहयोग प्रणालीमा दीर्घकालीन लगानी आवश्यक रहेको उल्लेख छ। साथै, बालबालिकाको कुरा सुन्नु र उनीहरूले प्रयोग गर्ने डिजिटल प्लेटफर्मको निर्माणमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।
चाइल्डसेफनेटले बालबालिकाको अधिकार र कल्याण अनलाइन सुरक्षित रहोस् र सबैका लागि अझ सुरक्षित इन्टरनेट बनाउन सकियोस भन्दै अभिभावक, विद्यालय, सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम र नागरिक समाजलाई एकसाथ काम गर्न आह्वान गरेको छ।
कृत्रिम बुद्धिमत्ताद्वारा सिर्जित सामग्रीसँग सम्बन्धित अनलाइन बाल यौन शोषणका उजुरीहरू तीव्र रूपमा बढिरहेका छन्। सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा, अमेरिकास्थित नेशनल सेन्टर फर मिसिङ एन्ड एक्स्प्लोइटेड चिल्ड्रेन (NCMEC) को साइबरटिपलाइनले एआई–सम्बन्धित सामग्रीका ४४०,००० भन्दा बढी उजुरीहरू प्राप्त गरेको छ।
यो संख्या सन् २०२४ को सोही अवधिमा प्राप्त केवल ६,८३५ उजुरीको तुलनामा अत्यन्तै ठूलो वृद्धि हो। यसले एआई उपकरणहरूको दुरुपयोग कति छिटो बढिरहेको छ भन्ने स्पष्ट देखाउँछ र प्रविधि नीति तथा सुरक्षात्मक उपायहरूभन्दा तेज गतिमा परिवर्तन भइरहेका डिजिटल वातावरणमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कडा संरक्षण, सुरक्षा–द्वारा–डिजाइन (Safety-by-Design) उपाय र समन्वित कार्य तुरुन्तै आवश्यक भएको संकेत गर्दछ।
सुरक्षित इन्टरनेट दिवस २०८२ माघ २७ गतेका दिन मनाइने भएता पनि, अनलाइन सुरक्षा सम्बन्धी सचेतना गतिविधिहरू वर्षभर सञ्चालन गरिने चाइल्डसेफनेटले जनाएको छ।
प्रकाशित: २७ माघ २०८२, मंगलवार