अब स्पेसएक्सको प्राथमिकता मंगल मिशनबाट चन्द्रमामा ‘आफैँ बढ्ने सहर’ निर्माणतर्फ

  • Technology Khabar | २७ माघ २०८२, मंगलवार
अब स्पेसएक्सको प्राथमिकता मंगल मिशनबाट चन्द्रमामा ‘आफैँ बढ्ने सहर’ निर्माणतर्फ

काठमाडौं ।

अर्बपति इलन मस्कले आइतबार स्पेसएक्सले चन्द्रमामा “आफैँ बढ्ने सहर” निर्माणमा ध्यान केन्द्रित गरेको बताएका छन् जुन लक्ष्य १० वर्षभन्दा कम समयमा हासिल गर्न सकिने उनको भनाइ छ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै मस्कले स्पेसएक्सले मंगल ग्रहमा सहर बसाल्ने दीर्घकालीन लक्ष्य अझै कायम रहेको स्पष्ट पारे।

उनका अनुसार कम्पनीले ५ देखि ७ वर्षभित्र मंगल ग्रहमा सहर निर्माणको काम सुरु गर्ने योजना बनाइरहेको छ, “तर सभ्यताको भविष्य सुरक्षित गर्नु अहिलेको सर्वोच्च प्राथमिकता हो, र चन्द्रमा त्यो हिसाबले छिटो सम्भव छ।”

मस्कको यो भनाइ शुक्रबार प्रकाशित वालस्ट्रीट जर्नलको रिपोर्टसँग मेल खान्छ। उक्त रिपोर्टअनुसार स्पेसएक्सले लगानीकर्ताहरूलाई चन्द्रमामा जाने योजनालाई प्राथमिकता दिने र मंगल ग्रहको यात्रा पछि गर्ने जानकारी दिएको छ।

रिपोर्टमा मार्च २०२७ मा मानवरहित चन्द्र अवतरण लक्ष्य बनाइएको उल्लेख छ। गत वर्षसम्म मस्कले २०२६ को अन्त्यसम्म मंगल ग्रहमा मानवरहित मिसन पठाउने लक्ष्य रहेको बताएका थिए।

अमेरिका यो दशकभित्र मानिसलाई पुनः चन्द्रमामा पठाउने दौडमा चीनसँग कडा प्रतिस्पर्धामा छ। सन् १९७२ मा सम्पन्न अपोलो १७ मिशन पछि मानवले चन्द्र सतहमा पाइला टेकेको छैन।

यसैबीच एक साता पनि नबित्दै मस्कले आफूले नेतृत्व गरिरहेको कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईलाई स्पेसएक्सले अधिग्रहण गरेको घोषणा गरेका थिए। उक्त सम्झौताले स्पेसएक्सको मूल्यांकन १ ट्रिलियन डलर र एक्सएआईको २५० अर्ब डलर तोकेको छ।

यस कदमका समर्थकहरूका अनुसार यसले अन्तरिक्षमा आधारित डाटा सेन्टर निर्माण गर्ने स्पेसएक्सको योजनालाई बल पुर्‍याउनेछ। मस्कका अनुसार यस्ता डाटा सेन्टरहरू विशेषगरी एआई विकाससँगै कम्प्युटिङ क्षमताको माग तीव्र रूपमा बढिरहेका बेला जमिनमा रहेका संरचनाभन्दा ऊर्जा–दक्ष हुन सक्छन्।

स्पेसएक्सले यसै वर्ष आईपीओमार्फत ५० अर्ब डलरसम्म पूँजी उठाउने अपेक्षा गरेको छ जसले यसलाई इतिहासकै सबैभन्दा ठूलो आईपीओ बनाउने सम्भावना छ।

सोमबार एक्समा एक प्रयोगकर्तालाई जवाफ दिँदै मस्कले यस वर्ष स्पेसएक्सको कुल आम्दानीमा नासाको हिस्सा ५ प्रतिशतभन्दा कम हुने बताएका छन्।

स्पेसएक्स नासाको आर्टेमिस चन्द्र कार्यक्रम अन्तर्गत स्टारशिप प्रयोग गरी अन्तरिक्षयात्रीलाई चन्द्र सतहमा उतार्ने ४ अर्ब डलरको ठेक्का पाएको मुख्य ठेकेदार हो। “स्पेसएक्सको आम्दानीको विशाल हिस्सा व्यावसायिक स्टारलिंक प्रणालीबाट आउँछ,” मस्कले थपे।

यसअघि आइतबार नै मस्कले स्पेसएक्सको पहिलो सुपर बाउल विज्ञापन सार्वजनिक गर्दै स्टारलिंक वाइ–फाइ सेवाको प्रचार गरेका थिए। स्पेसएक्सको रणनीति पुनःसंरचना गर्दै गर्दा मस्कले आफ्नो सार्वजनिक रूपमा सूचीकृत कम्पनी टेस्लालाई पनि नयाँ दिशामा डोर्‍याइरहेका छन्।

विश्वव्यापी विद्युतीय सवारी बजार स्थापना गरेपछि अब टेस्लाले स्वचालित ड्राइभिङ र रोबोटिक्सतर्फ मोडिन यस वर्ष २० अर्ब डलर लगानी गर्ने योजना बनाएको छ।

यो रूपान्तरण छिटो गर्न मस्कले गत महिना टेस्लाले क्यालिफोर्नियास्थित कारखानामा दुई मोडलका कार उत्पादन बन्द गरी अप्टिमस ह्युमानोइड रोबोट उत्पादनका लागि स्थान खाली गर्ने निर्णय लिएको बताएका थिए।

प्रकाशित: २७ माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...