
काठमाडौं ।
एटीएन्डटीले बच्चाहरुका लागि अभिभावकीय नियन्त्रणलाई केन्द्रमा राखेर डिजाइन गरिएको किफायती फोन सार्वजनिक गरेको छ।
आजको समयमा स्मार्टफोन बिना बच्चा हुर्कनु झन्डै असम्भवजस्तै भइसकेको छ। यही वास्तविकतालाई ध्यानमा राख्दै अमेरिकी टेलिकम कम्पनी एटी एन्ड टीले अभिभावकहरूका लागि ‘मध्य मार्ग’ दिने प्रयास गरेको हो।
कम्पनीले अमिगो जुनियर फोन सार्वजनिक गरेको छ जसले स्यामसङको हार्डवेयर र एटी एन्ड टीको आफ्नै एप प्रयोग गरेर बच्चाका लागि विशेष रूपमा अभिभावकीय नियन्त्रणसहितको स्मार्टफोन उपलब्ध गराउँछ।
अमिगो जुनियर फोन वास्तवमा सामसङ ग्यालेक्सी ए१६ नै हो जसलाई अझै पनि किफायती र भरपर्दो स्मार्टफोनका रूपमा लिइन्छ। यसमा ५० मेगापिक्सेलको मुख्य क्यामरा, ६.७ इन्चको डिस्प्ले र राम्रो ब्याट्री लाइफ छ।
तर एटीएन्डटीले यसलाई बच्चा–मैत्री बनाउँदै लाइभ लोकेसन ट्र्याकिङ, सेफ जोन, र स्क्रिनटाइम सीमित गर्ने सुविधा थपेको छ जुन सबै अमिगो एप मार्फत अभिभावकले नियन्त्रण गर्न सक्छन्।
इन्ग्याजेटका अनुसार अभिभावकीय नियन्त्रण भएको स्मार्टफोन नयाँ अवधारणा भने होइन। बार्क र पिनव्हीलजस्ता प्रतिस्पर्धी कम्पनीहरू यस क्षेत्रमा केही वर्षदेखि सक्रिय छन्। तर कुनै ठूला मोबाइल क्यारियरले आफ्नै स्ट्यान्डअलोन बाल–केन्द्रित स्मार्टफोन ल्याएको यो पहिलो पटक हो।
अमिगो जुनियर फोन अहिले एटी एन्ड टीको वेबसाइटमा महिनाको ३ डलरमा उपलब्ध छ। तर यसका लागि ३६ महिनाको सम्झौता गर्नुपर्ने हुन्छ, जसमा बिल क्रेडिट दिइन्छ। एटी एन्ड टीको ग्राहक भएकाले मासिक सेवा शुल्क भने तिर्नैपर्छ तर यसरी हेर्दा २०० डलर तिरेर ग्यालेक्सी ए१६ सिधै किन्नुभन्दा सस्तो पर्न जान्छ।
अझ बढी सुरक्षा र विकल्पका लागि एटी एन्ड टीले अमिगो जुनियर वाच २ पनि सार्वजनिक गरेको छ। यसले बच्चाका लागि बनाइएको ट्याब्लेटसहितको एटी एन्ड टीको बाल–केन्द्रित इकोसिस्टमलाई थप विस्तार गरेको छ।
प्रकाशित: २७ माघ २०८२, मंगलवार