तेह्रौँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को प्रथम चरणको नतिजा सार्वजनिक

  • Technology Khabar | २६ माघ २०८२, सोमबार
तेह्रौँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को प्रथम चरणको नतिजा सार्वजनिक

काठमाडौं ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को प्रथम चरण (प्रदेशस्तरीय) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस चरणमा सफल विद्यार्थीहरू राष्ट्रियस्तरको दोस्रो चरणका लागि छनोट भएका छन्।

प्रथम चरणको परीक्षा शनिबार, १७ जनवरी २०२६ मा दिउँसो १२ बजेदेखि २ बजेसम्म एकैसाथ देशभरका विभिन्न प्रदेश राजधानी मोरङ, धनुषा, काठमाडौँ, कास्की, रुपन्देही, सुर्खेत र कैलालीमा सञ्चालन गरिएको थियो। मूल्याङ्कनमा ३२ वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थीहरू दोस्रो चरणमा प्रवेश पाएको नासोका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए।

गत वर्षदेखि यो कार्यक्रमले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रियस्तरको ओलम्पियाडको मान्यता पाएको छ। साथै मन्त्रालयसँग भएको सहमतिअनुसार सहआयोजकका रूपमा राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न आंशिक आर्थिक तथा आवश्यक प्राविधिक सहयोग रहनेछ।

नासोका अनुसार यस वर्षको ओलम्पियाडमा सातै प्रदेशबाट उल्लेखनीय सहभागिता देखिएको छ। सामुदायिक, निजी, आवासीय तथा विशेष विद्यालयहरूबाट आएका विद्यार्थीहरूले प्रतिस्पर्धात्मक प्रदर्शन गरेका छन्।

कोशी प्रदेश (सिनियर) तर्फ शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुलका सिद्धान्त पराजुली प्रथम भएका छन् भने जुनियर समूहमा बाल कल्याण विद्या मन्दिरका शहवाज आलम शीर्ष स्थानमा रहे। मधेस प्रदेशमा सिनियर समूहबाट ज्ञानदा एकेडेमीका गौरव गुप्ता पहिलो भएका छन्।

बागमती प्रदेशबाट सबैभन्दा बढी विद्यार्थी राष्ट्रिय चरणका लागि छनोट भएका छन्। सिनियर समूहमा काठमाडौँ मोडल स्कुल, ललितपुरका आर्यन खड्का र जुनियर समूहमा काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलका सम्पन्न दाहाल प्रथम भएका छन्।

यसैगरी गण्डकी प्रदेशमा सिनियरतर्फ मदरल्यान्ड सेकेन्डरी स्कुलका शाश्वत रेग्मी, लुम्बिनी प्रदेशमा बिहान न्यौपाने, कर्णाली प्रदेशमा नमुना शाह, तथा सुदूरपश्चिम प्रदेशमा प्रशुद पन्तले सिनियर समूहमा पहिलो स्थान हासिल गरेका छन्।

नासोका अनुसार दोस्रो चरण (राष्ट्रियस्तर) को कार्यक्रम हाइब्रिड मोडलमा सञ्चालन हुनेछ। अधिकांश शैक्षिक सत्रहरू ‘अनलाइन’ माध्यमबाट हुनेछन् भने आवश्यक परेमा विद्यार्थीहरूले प्रदेश समन्वयकर्तामार्फत केही गतिविधि सम्पन्न गर्नुपर्नेछ।

छनोट भएका विद्यार्थीहरूलाई फेब्रुअरी १५, २०२६ भित्र इमेलमार्फत सहभागिता पुष्टि गर्न अनुरोध गरिएको उनले बताए। राष्ट्रिय चरणकोअन्तर्गत दोस्रो र तेस्रो चरण सञ्चालन हुनेछन् जसमा दोस्रो चरण घरै बसी दिन सकिनेछ भने तेस्रो चरणका लागि एकहप्ते बन्द शिविरका लागि काठमाडौँ आउनुपर्नेछ। उत्कृष्ट विद्यार्थीहरू छनोट गरी अन्तरराष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाडका लागि नेपालको टोली तयार गरिनेछ। रासस

प्रकाशित: २६ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार