च्याटजीपीटीमा विज्ञापन ल्याउने ओपनएआईको निर्णयमाथि एन्थ्रोपिकद्वारा व्यङ्ग्य

  • Technology Khabar | २६ माघ २०८२, सोमबार
च्याटजीपीटीमा विज्ञापन ल्याउने ओपनएआईको निर्णयमाथि एन्थ्रोपिकद्वारा व्यङ्ग्य

काठमाडौं ।

कृत्रिम बुद्धिमत्ता कम्पनी एन्थ्रोपिकले आइतबार राति हुने नेसनल फुटबल लिग (एनएफएल) को च्याम्पियनसिप खेल ‘सुपर बाउल’ का क्रममा प्रसारण हुने विज्ञापनमा करोडौँ डलर खर्च गर्दै प्रतिस्पर्धी ओपनएआईमाथि सार्वजनिक रूपमा कटाक्ष गरेको छ।

च्याटजीपीटीमा विज्ञापन समावेश गर्ने ओपनएआईको योजनालाई लक्षित गर्दै एन्थ्रोपिकले आफ्नो च्याटबोट ‘क्लाउड’ का लागि यो विज्ञापन अभियान चलाएको हो।

एनबीसी टेलिभिजन नेटवर्कमार्फत सुपर बाउल एलएक्सका क्रममा प्रसारण हुने ३० सेकेन्डको एउटा विज्ञापनमा ओपनएआईतर्फ संकेत गर्ने शैलीमा व्यंग्य गरिएको छ।

विज्ञापनमा पार्कमा पुल-अप गर्दै गरेको एक दुब्लो युवाले सिक्स-प्याक एब्स कसरी बनाउने भनेर नजिकैको व्यक्तिसँग सल्लाह माग्छ। त्यो व्यक्ति रोबोटिक शैलीमा बोल्दै आफू च्याटबोटझैँ देखिन्छ र व्यक्तिगत व्यायाम योजना दिने प्रस्ताव गर्छ। तर त्यसअघि उसले “होचो कद भएका पुरुषलाई अग्लो देखिन मद्दत गर्ने” जुत्ताको इन्सर्टको प्रचार घुसाउँछ, जसले ती युवालाई अलमलमा पार्छ।

विज्ञापनको अन्त्यमा भनिन्छ, “एआईमा विज्ञापन आउँदै छन्। तर क्लाउडमा होइन।”

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान भने यो विज्ञापनबाट खुसी भएनन्। उनले बुधबार सामाजिक सञ्जाल एक्समा उक्त विज्ञापनलाई “भ्रामक” भनेका छन्।

“हामी मूर्ख छैनौँ,” अल्टम्यानले बिहीबार अन्तर्वार्तामा भने, “हामी प्रयोगकर्ताको सम्मान गर्छौँ। यदि विज्ञापनमा देखाएजस्तै केही गर्‍यौँ भने, मानिसहरूले स्वाभाविक रूपमा हाम्रो उत्पादन प्रयोग गर्न छोड्नेछन्।”

ओपनएआईले भने सुपर बाउलको अवसर आफ्नो सफ्टवेयर कोडिङ उत्पादन ‘कोडेक्स’ को प्रचार गर्न प्रयोग गर्ने योजना बनाएको छ।

रोयटर्सका अनुसार यो एन्थ्रोपिकका लागि सुपर बाउलमा पहिलो विज्ञापन अभियान हो। करिब १२ करोड दर्शकले सिएटल सिहक्स र न्यु इङ्ल्यान्ड प्याट्रियट्सबीच सान्ता क्लारा, क्यालिफोर्नियामा हुने खेल हेर्ने अनुमान गरिएको छ।

एनबीसीयुनिभर्सलका ग्लोबल विज्ञापन प्रमुख मार्क मार्शलका अनुसार ३० सेकेन्डको एउटा विज्ञापनको औसत लागत ८ मिलियन डलर छ, भने केही विज्ञापन १० मिलियन डलरभन्दा बढीमा बिक्री भएका छन्। एनबीसीयुनिभर्सल, कमकास्टको स्वामित्वमा रहेको कम्पनी हो।

यी सुपर बाउल विज्ञापनहरू दुई ठूला एआई प्रयोगशालाबीचको प्रतिस्पर्धाको सबैभन्दा सार्वजनिक प्रदर्शन मानिएको छ। दुवै कम्पनी हालसम्म नाफामा छैनन् र उपभोक्ता आकर्षित गर्दै बजार हिस्सा बढाउने प्रतिस्पर्धामा छन्।

साथै यसै वर्षदेखि सार्वजनिक रूपमा आईपीओ निष्कासन गर्ने दौडमा रहेका कारण लगानीकर्ताको ध्यान तान्न पनि उनीहरू एकअर्कासँग भिडिरहेका छन्।

सिङ्गर एसोसिएट्स पब्लिक रिलेसन्सका अध्यक्ष साम सिङ्गरका अनुसार यो विवादले एआई कम्पनीहरू पनि “मानव स्वभावअनुसार सार्वजनिक रूपमा बहस गर्नबाट रोकिन नसक्ने” देखाएको छ।

“ओपनएआई र एन्थ्रोपिकबीचको विवादले सुपर बाउललाई अझ रोचक बनाएको छ,” उनले भने, “उस्तै खालका दुई उत्पादन भएका कम्पनीबीचको यो प्रतिस्पर्धाले मानिसलाई क्लोड वा च्याटजीपीटीबारे सोच्न बाध्य बनाउँछ, जसको फाइदा दुवैलाई पुग्छ।”

विज्ञापन उद्योगका विज्ञहरूका अनुसार वर्षकै सबैभन्दा ठूलो टेलिभिजन दर्शकसमक्ष पुगेर एन्थ्रोपिक र ओपनएआईले एआईप्रति रहेको नकारात्मक धारणा कम गर्न र प्रयोगकर्तालाई च्याटबोट प्रयोगमा सहज महसुस गराउन सक्छन्।

“मुख्य कुरा सही टोन समात्नु हो,” विज्ञापन ट्र्याकिङ फर्म गाइडलाइनका प्रमुख इनसाइट्स तथा एनालिटिक्स अधिकृत सीन राइटले भने, “हाल अमेरिकाका केवल १७ प्रतिशत वयस्कले मात्र आगामी २० वर्षमा एआईले सकारात्मक प्रभाव पार्ने विश्वास गर्छन्। त्यसैले एआई कहिल्यै नप्रयोग गरेका आम दर्शकलाई टाढा नहटाउने सन्तुलन अत्यन्तै महत्त्वपूर्ण छ।”

प्रकाशित: २६ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...