दक्षिण कोरियाली क्रिप्टो कम्पनी बिथम्बले भूलवश: प्रयोगकर्तालाई ४४ अर्ब डलर बराबरको बिटक्वाइन पठाएपछि…

  • Technology Khabar | २५ माघ २०८२, आईतवार
दक्षिण कोरियाली क्रिप्टो कम्पनी बिथम्बले भूलवश: प्रयोगकर्तालाई ४४ अर्ब डलर बराबरको बिटक्वाइन पठाएपछि…

काठमाडौं ।

दक्षिण कोरियाको क्रिप्टोकरेन्सी एक्सचेन्ज बिथम्बले प्रचारात्मक कार्यक्रमका क्रममा गल्तीले ग्राहकहरूलाई ४० अर्ब डलरभन्दा बढी मूल्यको बिटक्वाइन वितरण गरेको शनिबार जनाएको छ। उक्त घटनापछि एक्सचेन्जमा तीव्र बिक्री दबाब देखिएको थियो।

शुक्रबार भएको उक्त गल्तीप्रति क्षमायाचना गर्दै बिथम्बले हालको मूल्यअनुसार करिब ४४ अर्ब डलर बराबर पर्ने ६ लाख २० हजार बिटक्वाइनमध्ये ९९.७ प्रतिशत फिर्ता भइसकेको जनाएको छ। गलत रूपमा वितरण भएको ३५ मिनेटभित्रै ६९५ जना प्रभावित ग्राहकहरूको कारोबार र निकासी रोकिएको पनि कम्पनीले जनाएको छ।

रोयटर्सका अनुसार बिथम्बले प्रचार कार्यक्रमअन्तर्गत प्रत्येक प्रयोगकर्तालाई २,००० कोरियन वन (करिब १.४० डलर) वा सोभन्दा बढी नगद पुरस्कार वितरण गर्ने योजना बनाएको थियो। तर सञ्चारमाध्यमका अनुसार विजेताहरूले कम्तीमा पनि २ हजार बिटक्वाइन प्राप्त गरे।

“यो घटना कुनै बाह्य ह्याकिङ वा सुरक्षा उल्लङ्घनसँग सम्बन्धित होइन भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ। प्रणालीको सुरक्षामा वा ग्राहकको सम्पत्ति व्यवस्थापनमा कुनै समस्या छैन,” बिथम्बले विज्ञप्तिमा भनेको छ।

तर वित्तीय सेवा आयोग समेत समावेश रहेको दक्षिण कोरियाका वित्तीय नियामक निकायहरूले यस घटनाले “भर्चुअल सम्पत्तिसँग जोडिएका कमजोरी र जोखिमहरू उजागर गरेको” बताएका छन्।

आकस्मिक बैठकपछि नियामकहरूले आन्तरिक नियन्त्रण प्रणाली, भर्चुअल सम्पत्तिको स्वामित्व तथा सञ्चालनसम्बन्धी समीक्षा क्रममा अनियमितता भेटिएमा बिथम्बसहित अन्य क्रिप्टो एक्सचेन्जहरूमा स्थलगत निरीक्षण सुरु गरिने बताएका छन्।

एक्सचेन्जका चार्टअनुसार शुक्रबार साँझ बिथम्बमा बिटक्वाइनको मूल्य एकाएक १७ प्रतिशतले घटेर ८१.१ मिलियन वनसम्म झरेको थियो। पछि भने मूल्य पुनः उक्लिएर अन्तिम कारोबारमा १०४.५ मिलियन वनमा पुगेको देखिन्छ। दक्षिण कोरियाली क्रिप्टो बजारमा बिथम्ब प्रमुख खेलाडी अपबिटभन्दा पछि पर्छ।

प्रकाशित: २५ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार