कारप्लेमा अन्य कम्पनीका भ्वाइस–कन्ट्रोल एआई च्याटबोटलाई अनुमति दिने तयारीमा एप्पल

  • Technology Khabar | २५ माघ २०८२, आईतवार
कारप्लेमा अन्य कम्पनीका भ्वाइस–कन्ट्रोल एआई च्याटबोटलाई अनुमति दिने तयारीमा एप्पल

काठमाडौं ।

एप्पलले आफ्नो कारप्ले प्रणालीमा अन्य कम्पनीका भ्वाइस–कन्ट्रोल कृत्रिम बुद्धिमत्ता (एआई) एपहरू प्रयोग गर्न दिने तयारी गरिरहेको ब्लुमबर्ग न्युजले शुक्रबार जनाएको छ। यस विषयमा जानकार स्रोतलाई उद्धृत गर्दै समाचार प्रकाशित गरिएको हो।

यो परिवर्तन एप्पलका लागि रणनीतिक रूपमा महत्वपूर्ण मोड मानिन्छ। हालसम्म कारप्लेमा भ्वाइस–कन्ट्रोलका लागि एप्पलको आफ्नै ‘सिरी’ सहायक मात्र उपलब्ध थियो। अब भने प्रयोगकर्ताले पहिलोपटक कारप्ले मार्फत अन्य कम्पनीका एआई च्याटबोटहरूलाई पनि सोधपुछ गर्न सक्नेछन्। एप्पलले यस समाचारबारे टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले जनाएको छ।

रिपोर्टअनुसार ओपनएआई, एन्थ्रोपिक तथा अल्फाबेट (गुगल) जस्ता एआई कम्पनीहरूले भ्वाइस–कन्ट्रोल सुविधा समावेश भएका आफ्ना एपहरूको कारप्ले संस्करण सार्वजनिक गर्न सक्नेछन्।

एप्पलले कारप्लेमा रहेको सिरी बटन वा सेवालाई बोलाउने ‘वेक–वर्ड’ लाई भने अन्य एआई सेवाले प्रतिस्थापन गर्न नपाउने व्यवस्था कायम राख्नेछ। तेस्रो पक्षको भ्वाइस–कन्ट्रोल प्रयोग गर्न प्रयोगकर्ताले सम्बन्धित एप खोल्नुपर्नेछ।

ब्लुमबर्गका अनुसार एप्पलले आगामी एक महिनाभित्र कारप्लेमा यस्ता एपहरूलाई समर्थन गर्ने काम गरिरहेको छ। यसपछि विकासकर्ताहरूले एप खोल्नेबित्तिकै स्वचालित रूपमा भ्वाइस मोड सुरु हुने गरी आफ्ना एप डिजाइन गर्न सक्नेछन्।

प्रकाशित: २५ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार