
काठमाडौं ।
गोल्डम्यान साक्सले बैंकभित्रका विभिन्न कामहरू स्वचालित गर्न एआई–आधारित एजेन्ट विकास गर्ने उद्देश्यले प्रविधि स्टार्टअप एन्थ्रोपिकसँग सहकार्य गरिरहेको छ। यसबारे सीएनबीसीले शुक्रबार जनाएको हो र उक्त समाचारको सत्यता गोल्डम्यान साक्सले पनि पुष्टि गरेको छ।
रोयटर्सका अनुसार सीएनबीसीसँग कुरा गर्दै बैंकका प्रमुख सूचना अधिकृत मार्को आर्जेन्तीले पछिल्ला ६ महिनादेखि एन्थ्रोपिकका इन्जिनियरहरू गोल्डम्यान साक्सका टोलीमै बसेर काम गरिरहेका थिए। यस सहकार्यअन्तर्गत व्यापार तथा कारोबारको लेखांकन, ग्राहकसम्बन्धी जाँच र नयाँ ग्राहक भित्र्याउने प्रक्रिया जस्ता कामका लागि स्वायत्त एआई एजेन्ट तयार पारिँदै छन्।
एन्थ्रोपिकले ‘क्लाउड को–वर्कर’ जस्ता उत्पादनमार्फत व्यवसायिक सम्झौताहरू विस्तार गर्ने प्रयास गरिरहेको छ। यो प्रणालीले कर्मचारीका लागि कम्प्युटरसम्बन्धी कामहरू स्वतः सम्पन्न गर्ने लक्ष्य राख्छ। आर्जेन्तीका अनुसार गोल्डम्यान साक्स अहिले एन्थ्रोपिकको ‘क्लाउड’ मोडेलमा आधारित एआई एजेन्ट विकासको प्रारम्भिक चरणमै छ।
तर यस प्रविधिले बैंकका मुख्य सञ्चालन प्रक्रियाहरू पूरा गर्न लाग्ने समय उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ। उनले बैंकले ती एआई एजेन्टहरू छिट्टै सार्वजनिक प्रयोगमा ल्याउने योजना बनाएको भए पनि ठोस समयसीमा भने खुलाएका छैनन्।
प्रकाशित: २५ माघ २०८२, आईतवार