नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

  • Technology Khabar | २४ माघ २०८२, शनिबार
नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

काठमाडौं ।

लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ नेपाल’ले आजदेखि नेपालगञ्जमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले आज उक्त सेवाको शुभारम्भ गरेका हुन्। उक्त सेवा आजदेखि बाँके र बर्दियामा सुरु भएको हो।

सो अवसरमा नगरप्रमुख बिष्टले भने, “प्रविधिमैत्री यस्ता सेवाले सहरको यातायात सेवालाई सहज बनाउनुका साथै नागरिकलाई सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने विश्वास छ।” नेपालगञ्जमा सुरु गरिएको विद्युतीय ट्याक्सी सेवाले आफ्नै देशमा काम गर्ने वातावरण सिर्जना गरेको उनले बताए।

अठार महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको ई–ड्राइभ सेवा अब बाँकेको प्रमुख सहर नेपालगञ्जमा विस्तार गरिएको ई–ड्राइभ लुम्बिनीका निर्देशक विजय भण्डारीले जानकारी दिए। उनका अनुसार आजैदेखि बाँके र बर्दियामा एकसाथ ई–ड्राइभ नेपालको सेवा विस्तार भएको छ।

निर्देशक भण्डारीले भने, “समयअनुसार सेवा प्रणाली प्रविधियुक्त डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवालाई पनि प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा सेवा सञ्चालनमा ल्याएका हौँ।”

कार्यक्रममा ई–ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो सेवा सुरु गरिएको बताए। उनले भाने, “युवालाई विदेश जान बाध्य पार्नुको सट्टा स्वदेशमै रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य हो। आगामी दिनमा ई–ड्राइभ सेवालाई देशभर विस्तार गर्ने योजना बनाएका छौँ।”

हाल ई–ड्राइभ लुम्बिनीले रु सात करोडभन्दा बढी लगानी गरेको छ। हाल रुपन्देहीमा एक सय १० ट्याक्सी तथा पाँच सयभन्दा बढी मोटरसाइकल चालकमार्फत सेवा दिँदै आएको ई–ड्राइभले नेपालगञ्जमा प्रारम्भिक चरणमा १५ विद्युतीय ट्याक्सीमार्फत सेवा सुरु गरेको ई–ड्राइभ लुम्बिनीका निर्देशक भण्डारीले बताए। रासस

प्रकाशित: २४ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...