
काठमाडौं ।
जोखिमयुक्त सम्पत्तिहरूमा स्थिरता आउन थालेसँगै बिटक्वाइन शुक्रबार फेरि ७० हजार डलरमाथि पुगेको छ। यसअघि १६ महिनाकै न्यून स्तरमा झरेको बिटक्वाइन प्रविधि कम्पनीका सेयर र बहुमूल्य धातुहरूमा तीव्र सुधार आएपछि उकालो लागेको हो।
पछिल्लो समयको विश्वव्यापी गिरावटले विभिन्न जोखिमयुक्त सम्पत्तिहरूलाई नराम्ररी असर पारेको थियो।
विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइन अन्तिम कारोबारमा ११ प्रतिशतभन्दा बढीले बढेर ७० हजार २३१ डलरमा पुगेको थियो। यस क्रममा यसको मूल्य ७१ हजार ४६४.९६ सम्म उक्लिएको थियो।
यसअघि बिटक्वाइन ६० हजार १७.६० डलरसम्म झरेको थियो जुन अक्टोबर २४ यताकै सबैभन्दा तल्लो स्तर हो। मार्च २०२३ यता बिटक्वाइनले एकै दिनमा हासिल गरेको यो सबैभन्दा ठूलो वृद्धि हो।
“यो हप्ता दबाबमा परेका जोखिमयुक्त सम्पत्तिहरूका लागि आजको दिन समायोजन जस्तो देखिन्छ,” क्यानडाको टोरन्टोस्थित स्कोटियाबैंकका प्रमुख मुद्रा रणनीतिकार शोन ओसबोर्नले शुक्रबार भने। गत अक्टोबरमा आएको ठूलो गिरावटपछि बिटक्वाइन ऐतिहासिक उच्च बिन्दुबाट तल झरेसँगै डिजिटल मुद्रा बजार केही महिनायता संघर्षरत छ, जसले गर्दा लगानीकर्ताको धारणा पनि चिसिएको छ।
रोयटर्सका अनुसार शुक्रबार देखिएको न्यून स्तर अक्टोबर २०२४ को सुरुवातयताकै कमजोर हो। त्यही समयपछि अमेरिकी राष्ट्रपति चुनाव जित्ने दिशामा डोनाल्ड ट्रम्प अघि बढ्दै गर्दा, चुनावी अभियानमै क्रिप्टोलाई समर्थन गर्ने संकेत दिएसँगै बिटक्वाइनको उछाल तीव्र बनेको थियो। तर बजारका प्रतिसपर्धीहरू शुक्रबारको सुधारप्रति भने सशंकित देखिएका छन्।
अप्सन बजारले बिटक्वाइनमा थप गिरावटको अपेक्षा बढ्दै गएको संकेत गरेको छ। बिटक्वाइनको मूल्य झरेमा सुरक्षा दिने ‘डाउनसाइड प्रोटेक्सन’ को माग तीव्र रूपमा बढेको देखिएको छ। एउटा विकेन्द्रित अप्सन प्लेटफर्मको तथ्यांकअनुसार बिटक्वाइनमा ‘पुट ओपन इन्टरेस्ट’ उल्लेखनीय रूपमा बढेको छ, जसले मूल्य अझै तल जान सक्ने अपेक्षा देखाउँछ।
फेब्रुअरी २७ मा सकिने अप्सनका लागि व्यापारीहरू ६० हजारदेखि ५० हजारको स्ट्राइक मूल्यमा केन्द्रित देखिएका छन्। यसले सो मितिसम्म बिटक्वाइन ती स्तरमा पुग्ने वा त्यही आसपास रहनेमा लगानीकर्ताहरूले दाउ लगाइरहेको संकेत गर्छ।
“यो एकतर्फी बजार बनेको छ। डाउनसाइड प्रोटेक्सनको माग अत्यन्तै उच्च छ,” डिराइभ.एक्सवाईजेडका अनुसन्धान प्रमुख सीन डसनले भने। “दीर्घकालीन रूपमा बिटक्वाइनका आधारभूत पक्षहरू बलिया नै छन्, तर अप्सन बजारले छोटो अवधिमा यो आक्रामक गिरावट जारी रहन सक्ने स्पष्ट संकेत गरिरहेको छ।”
इथर पनि १२ प्रतिशतले बढेर २ हजार ६८ डलर पुगेको छ। यसअघि सत्रकै क्रममा यो करिब १० महिनाकै न्यून स्तर १ हजार ७५३.९८ डलरसम्म झरेको थियो। दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथर अगस्टपछि यताकै सबैभन्दा ठूलो दैनिक वृद्धितर्फ उन्मुख भए पनि, साप्ताहिक रूपमा भने अझै ९ प्रतिशतभन्दा बढीले घटेको छ।
अक्टोबरयता अझै पनि २ ट्रिलियन डलर बजार मूल्य नष्ट
शुक्रबारको सुधारपछि पनि अक्टोबरको सुरुवातमा ४.३७९ ट्रिलियनको शिखरमा पुगेको विश्वव्यापी क्रिप्टो बजारबाट करिब २ ट्रिलियन डलर मूल्य हराइसकेको क्वाइनगेकोको तथ्यांकले देखाएको छ। पछिल्लो एक महिनामै मात्र १ ट्रिलियन डलरभन्दा बढी बजार मूल्य नष्ट भएको छ।
“बिटक्वाइन फेरि ६० हजार डलरतिर फर्किनु क्रिप्टो मर्दै गएको संकेत होइन। यो त जोखिम नियन्त्रणबिनै बिटक्वाइनलाई एकतर्फी सम्पत्ति ठानेर लगानी गरेका ट्रेजरी र फन्डहरूका लागि अब वास्तविक मूल्य चुकाउने समय आएको मात्र हो,” हङकङ वेब३ एसोसिएसनका सह–अध्यक्ष जोसुवा चुले भने। “यस्तै अवस्था हामीले सुन र चाँदीजस्ता तथाकथित सुरक्षित सम्पत्तिहरूमा पनि देखेका छौँ, जहाँ अत्यधिक उधारो र कथाले वास्तविकताभन्दा अघि दौडिँदा तीव्र सुधार आएको थियो।”
प्रकाशित: २४ माघ २०८२, शनिबार