नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त: राष्ट्रको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता

  • Technology Khabar | २३ माघ २०८२, शुक्रबार
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त: राष्ट्रको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन्। हिजो २२ गतेको प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज उनलाई नियुक्ति पत्र प्रदान गर्दै उक्त जिम्मेवारी दिएको हो।

टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले टेक्नोलोजीखबरलाई जानकारी दिए अनुसार हिजो बिहीबार नै यसबारे निर्णय भएको तर औपचारिक पत्र भने आज प्रदान गरिएको हो।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नातक (बीई) अध्ययन गरेकी छन्। उनले २०५१ जेठ १ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी रूपमा सेवा प्रवेश गरेकी थिइन् भने २०५२ जेठ ९ गते स्थायी नियुक्ति पाएकी थिइन्।

डंगोल २०८० जेठ ३२ गतेदेखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशकका रूपमा कार्यरत रहँदै आएकी थिइन्। यस अवधिमा उनले प्रादेशिक निर्देशनालय विराटनगर तथा काठमाडौं र वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्हालेकी थिइन्। नियुक्तिअघि उनी प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत थिइन्।

पदभार ग्रहण गर्दै निमित्त प्रबन्ध निर्देशक डंगोलले आफूप्रति नेपाल सरकारले व्यक्त गरेको विश्वास र सद्भावप्रति आभार व्यक्त गरेकी छन्। उनले ग्राहकको अपेक्षा र सरकारको प्राथमिकतालाई ध्यानमा राख्दै कम्पनी, कर्मचारी तथा राष्ट्रको हितलाई केन्द्रमा राखेर कार्य गर्ने प्रतिबद्धता जनाएकी छन्।

उनले नेपाल टेलिकमलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सुदृढ बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने धारणा व्यक्त गरेकी छन्।

प्रकाशित: २३ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार