आई खोजलाई आफ्नो व्यवसायका लागि अर्को ठूलो अवसरका रूपमा हेर्दै रेडिट

  • Technology Khabar | २३ माघ २०८२, शुक्रबार
आई खोजलाई आफ्नो व्यवसायका लागि अर्को ठूलो अवसरका रूपमा हेर्दै रेडिट
फाइल तस्बिर

काठमाडौं ।

रेडिटले एआई खोजलाई आफ्नो व्यवसायका लागि अर्को ठूलो अवसरका रूपमा हेरेको छ। बिहीबार कम्पनीले एआई–सञ्चालित खोज इन्जिन केवल उत्पादनका हिसाबले मात्र नभई आम्दानी बढाउने प्रमुख माध्यम पनि बन्न सक्ने संकेत दिएको हो।

बिहीबारै भएको चौथो त्रैमासिक आम्दानीसम्बन्धी सम्मेलनमा कम्पनीले परम्परागत खोज र एआई सर्चलाई एकै ठाउँमा जोड्ने योजनाबारे अपडेट दिएको थियो र खोज अझै मुद्रीकरण नभए पनि “यो ठूलो बजार र अवसर” भएको बताएको थियो।

कम्पनीका अनुसार विशेषगरी जेनेरेटिभ एआई सर्च “धेरैजसो प्रश्नका लागि अझ राम्रो” हुनेछ।

“हामी खासगरी राम्रो रहेको प्रश्नको प्रकार भनेको त्यस्ता प्रश्न हुन् जसको एकै उत्तर हुँदैन, जहाँ उत्तर धेरै मानिसका फरक–फरक दृष्टिकोण हुन्छन्। इन्टरनेटमा यसमा हामी सबैभन्दा राम्रो छौँ भन्ने मेरो तर्क छ,” रेडिट का प्रमुख कार्यकारी अधिकृत स्टिभ हफम्यानले भने।

उनका अनुसार परम्परागत खोज भनेको धेरैजसो कुनै विषय वा सबरेडिटको सही लिंक फेला पार्ने माध्यम अर्थात् नेभिगेसनजस्तै हो। तर एलएलएमहरू यसमा पनि राम्रो हुन सक्छन्, सायद अझ राम्रो। “त्यही दिशामा हामी जाँदैछौँ,” उनले भने।

हफम्यानका अनुसार पछिल्लो एक वर्षमा खोजका लागि साप्ताहिक सक्रिय प्रयोगकर्ता ६ करोडबाट बढेर ८ करोड पुगेका छन्, जसले ३० प्रतिशत वृद्धि देखाउँछ। त्यस्तै, एआई–सञ्चालित रेडिट आन्सर्सका साप्ताहिक सक्रिय प्रयोगकर्ता २०२५ को पहिलो त्रैमासिकमा १० लाख मात्र थिए भने चौथो त्रैमासिकसम्म आइपुग्दा १ करोड ५० लाख पुगेका टेकक्रञ्चले उल्लेख गरेको छ।

“हामी त्यहाँ धेरै वृद्धि देखिरहेका छौँ, र अझ धेरै सम्भावना पनि छ,” हफम्यानले थपे। रेडिट ले एआई उत्तरहरूको इन्टरफेसलाई आधुनिक बनाउने काम गरिरहेको र उत्तरहरूलाई थप मिडिया–समृद्ध बनाउने तयारी भइरहेको बताएको छ। यसको परीक्षण प्रक्रिया पहिले नै सुरु भइसकेको छ।

कम्पनीले आफूलाई केवल सामाजिक सञ्जाल मात्र नभई मानिसहरू उत्तर खोज्न आउने स्थानका रूपमा कसरी स्थापित गर्ने भन्नेबारे पनि सोचिरहेको छ। सम्मेलनमा रेडिट ले लगइन भएका र नभएका प्रयोगकर्ताबीचको फरक २०२६ को तेस्रो त्रैमासिकदेखि हटाउने जानकारी दिएको थियो।

एआई र मेसिन लर्निङ प्रयोग गरेर साइटलाई व्यक्तिगत बनाउने र जो आए पनि सान्दर्भिक बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

रेडिटले २०२५ मा नै आफ्नो एआई खोज सुविधा रेडिट आन्सर्सलाई परम्परागत खोज इन्जिनसँग जोड्ने योजना घोषणा गरेको थियो। चौथो त्रैमासिकमा कम्पनीले मुख्य खोज प्रणाली र एआई सुविधालाई एकीकृत गर्न “महत्वपूर्ण प्रगति” भएको बताएको छ।

साथै रेडिट आन्सर्समा पाँच नयाँ भाषा थपिएको र पाठभन्दा बाहिरका मिडिया समेटिएका खोज नतिजासहित डाइनामिक एजेन्टहरूको परीक्षण भइरहेको जनाएको छ।

रेडिट ले आफ्ना एआई उत्तरहरूलाई मूल्यवान् माने पनि त्यसलाई आफूमै सीमित राखेको छैन। अन्य कम्पनीलाई आफ्ना डाटामा एआई मोडेल प्रशिक्षण गर्न दिने सामग्री लाइसेन्सिङ व्यवसाय पनि बढ्दै गएको कम्पनीले जनाएको छ।

यो आम्दानी रेडिटको “अन्य” आम्दानीअन्तर्गत पर्छ, जसमा विज्ञापन बाहेकका स्रोत समेटिन्छन्। यो “अन्य” आम्दानी वार्षिक रूपमा ८ प्रतिशतले बढेर चौथो त्रैमासिकमा ३ करोड ६० लाख डलर पुगेको छ भने २०२५ का लागि २२ प्रतिशतले बढेर १४ करोड डलर पुगेको छ।

प्रकाशित: २३ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार