
काठमाडौं ।
आफ्नो व्यवसाय पुनः सुदृढ बनाउने प्रयासमा रहेको इन्टेलले एनभिडियाले लोकप्रिय बनाएको नयाँ किसिमको चिप उत्पादन सुरु गर्ने घोषणा गरेको छ। मंगलबार आयोजित सिस्को एआई सम्मेलनमा इन्टेलका सीईओ लिप–बु टानले कम्पनीले ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) बनाउन थाल्ने बताए।
जीपीयूहरू इन्टेलले परम्परागत रूपमा बनाउँदै आएका सीपीयूभन्दा बढी विशिष्टीकृत प्रोसेसर हुन्। यी चिपहरू मुख्यत: गेमिङ तथा कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल प्रशिक्षण जस्ता उच्च कम्प्युटिङ आवश्यक पर्ने काममा प्रयोग हुन्छन्।
टेकक्रञ्चका अनुसार यस परियोजनाको नेतृत्व इन्टेलको डाटा सेन्टर समूहका कार्यकारी उपाध्यक्ष तथा जनरल म्यानेजर केभर्क केचिचियनले गर्नेछन्। उनी सेप्टेम्बरमा इन्टेलमा भित्रिएका इन्जिनियर–केन्द्रित नयाँ भर्नामध्ये एक हुन्।
साथै जनवरीमा इन्टेलले एरिक डेमर्सलाई पनि यो पहलका लागि नियुक्त गरेको थियो। डेमर्स यसअघि १३ वर्षभन्दा बढी समय क्वालकममा कार्यरत थिए र अन्तिम रूपमा वरिष्ठ उपाध्यक्ष (इन्जिनियरिङ) को जिम्मेवारी सम्हालेका थिए।
टानका अनुसार यो पहल अझै प्रारम्भिक चरणमै छ। कम्पनीले ग्राहकको माग र आवश्यकताका आधारमा जीपीयू रणनीति विकास गर्ने योजना बनाइरहेको छ।
जीपीयूको आविष्कार एनभिडियाले नगरेको भए पनि एआई प्रणालीका लागि उसका जीपीयूहरू अत्यन्तै उन्नत र लोकप्रिय भएकाले हाल एनभिडियाको बजारमा बलियो प्रभुत्व छ।
इन्टेलले जीपीयू क्षेत्रमा प्रवेश गर्ने निर्णय चासोको विषय बनेको छ किनभने टानले गत मार्चमा सीईओको जिम्मेवारी सम्हाल्दा कम्पनीले आफ्ना मुख्य व्यवसायमा केन्द्रित हुने र संरचना समेट्ने बताएका थिए। जीपीयू पनि सेमिकन्डक्टरकै हिस्सा भए तापनि यो कदम इन्टेलका लागि महत्वपूर्ण रणनीतिक विस्तार मानिएको छ।
प्रकाशित: २३ माघ २०८२, शुक्रबार