६ महिनामा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता २ करोड ७१ लाख नाघे: फोरजीका थपिए, थ्रीजीका घटे

  • Technology Khabar | २२ माघ २०८२, बिहीबार
६ महिनामा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता २ करोड ७१ लाख नाघे: फोरजीका थपिए, थ्रीजीका घटे

काठमाडौं ।

नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या असोज मसान्तसम्म २ करोड ७१ लाख ५१ हजार ७९१ पुगेको छ।

यो सङ्ख्या चालु आर्थिक वर्षको सो अवधिसम्म थ्रीजी र फोरजी सेवा लिनेहरु मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको समग्र आँकडा हो।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८२ पुस मसान्तसम्मको तथ्यांक अनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या अघिल्लो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ११ लाख २० हजार ८०३ ले बढेको हो। यो सङ्ख्या गत आर्थिक वर्षको पुस मसान्तसम्म २ करोड ६० लाख ३० हजार ९८८ रहेको थियो।

२०८२ पुस महिनासम्मको समग्र २ करोड ७१ लाख ८७ हजार ६४५ ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ करोड ५१ लाख ६० हजार ५१० रहेको छ।

यो सङ्ख्यामा टुजीका प्रयोगकर्ता शून्य छ भने थ्रीजीका ७ लाख ४ हजार १६७ तथा फोरजीका १ करोड ४४ लाख ५६ हजार ३४३ समावेश छन्।

तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता  १ करोड, २५ लाख, ९५ हजार ११९ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता ९१ हजार ३२९ र फोरजी १ करोड १८ लाख ९ हजार ९५२ रहेका छन्।

फोरजी

टेलिकमले थप्यो एनसेलले गुमायो 

२०८१ पुस मसान्तको तुलनामा २०८२ पुस मसान्तसम्म नेपाल टेलिकमले फोरजी सेवा लिने ग्राहक उल्लेख्य थपेको छ।

फोरजीका हकमा १ वर्षमा नेपाल टेलिकमले १३ लाख ७ हजार ५०९ ग्राहक थपेको छ। २०८१ मंसिर मसान्तसम्म नेपाल टेलिकमका फोरजी ग्राहक १ करोड ३१ लाख ५७ हजार ८३४ थिए भने २०८२ पुसमा आइपुग्दा यो सङ्ख्या १ करोड ४४ लाख ६५ हजार ३४३ पुगेको छ।

एनसेलले भने एक वर्षमा २ लाख ७२ हजार २८६ ग्राहक गुमाएको प्रतिवेदनले देखाएको छ। २०८१ मंसिर मसान्तसम्म एनसेलका फोरजी ग्राहक १ करोड १९ लाख १७ हजार ५८२ थिए भने २०८२ पुसमा आइपुग्दा घटेर यो सङ्ख्या १ करोड १८ लाख ९० हजार ९५२ मा आइपुगेको छ।

थ्रीजी

टेलिकम र एनसेलले दुवैले गुमाए

२०८२ पुस महिनासम्ममा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७१ हजार ८६८ ले गुमाएको छ। हाल नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ७ लाख ४ हजार १६७ रहेका छन्। यो आँकडा २०८१ असोज मसान्तसम्म ७ लाख ७६ हजार ३५ रहेको थियो।

एनसेलले पनि ५६ हजार २९२ ग्राहक गुमाउँदै समग्रमा आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या ९१ हजार ३२९ मा झारेको छ। यो आँकडा २०८१ मंसिर मसान्तसम्म १ लाख ४७ हजार ६२१ रहेको थियो।

समग्रमा हेर्दा एक वर्षमा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता केही बढेका छन्। तीमध्ये नेपाल टेलिकमले  थ्रीजीमा गुमाएको र फोरजीमा थपेको छ भने  एनसेलले भने थ्रीजी र फोरजी दुवैका प्रयोगकर्ता गुमाएको प्रतिवेदनले देखाएको छ। यो प्रवृत्ति अघिल्लो महिना मंसिरमा पनि यस्तै रहेको थियो।

प्रकाशित: २२ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...