वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना नियन्त्रणमा

  • Technology Khabar | २० माघ २०८२, मंगलवार
वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना नियन्त्रणमा

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपानेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाललाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

उनले भने, “निजहरूले कुरियर कम्पनीमार्फत विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।”

पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट रिसवतबापत लिइएको रु १० हजार, सोही घर्राबाट स्रोत नखुलेको रु ४० हजार ३५० र निजको साथबाट स्रोत नखुलेको रु ९६ हजार ७०, नायब सुब्बा रिजालको साथबाट रिसवतबापत लिइएको रु २० हजार, स्रोत नखुलेको रु १८ हजार ८४८ र अन्य स्रोत नखुलेको रकमसमेत गरी रु दुई लाख ६८ हजार २८८ तथा विभिन्न व्यक्तिबाट लिइएका मोबाइल २३ थानसमेत नियन्त्रणमा लिइएको प्रवक्ता न्यौपानेले बताए। रासस

प्रकाशित: २० माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...