
काठमाडौं ।
मेटा प्लेटफर्म्स बालबालिका तथा किशोर–किशोरीलाई यौन शोषणमा पर्न दिएको र त्यसबाट नाफा कमाएको आरोपमा न्यू मेक्सिको राज्यले दायर गरेको मुद्दामा आगामी साता अदालतमा पेश हुँदैछ। सामाजिक सञ्जाल कम्पनीविरुद्ध जूरीसमक्ष पुग्ने यो पहिलो प्रकारको मुद्दा हो।
न्यू मेक्सिकोका महान्यायाधिवक्ता राउल टोरेज (डेमोक्र्याट) द्वारा दायर गरिएको मुद्दामा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमार्फत बालबालिकाको यौन शोषण हुने अवैध सामग्री प्रवर्द्धन गरेको र त्यसलाई सहज बनाएको आरोप लगाइएको छ।
मुद्दाअनुसार मेटाले नाबालक प्रयोगकर्तामाथि यौन अपराध गर्ने व्यक्तिहरूलाई सजिलै पहुँच दिएको, उनीहरूलाई पीडितसँग जोडिदिएको, जसले वास्तविक जीवनमा हुने दुर्व्यवहार र मानव तस्करीसम्म निम्त्याएको दाबी गरिएको छ।
रोयटर्सका अनुसार सोमबार सान्ता फे जिल्ला अदालतमा जूरी छनोटबाट सुरु हुने यो मुद्दा सातदेखि आठ हप्तासम्म चल्ने अपेक्षा गरिएको छ। मेटाले भने सबै आरोप अस्वीकार गर्दै नाबालक प्रयोगकर्ताको सुरक्षाका लागि पर्याप्त सुरक्षा व्यवस्था लागू गरिएको दाबी गरेको छ।
गोप्य अनुसन्धान
यो मुद्दा सन् २०२३ मा महान्यायाधिवक्ता टोरेजको कार्यालयले सञ्चालन गरेको “अपरेशन मेटाफाइल” नामक गोप्य अनुसन्धानबाट सुरु भएको हो। उक्त अभियानअन्तर्गत अनुसन्धानकर्ताहरूले १४ वर्षभन्दा कम उमेरका प्रयोगकर्ता बनेर फेसबुक र इन्स्टाग्राममा खाता खोलेका थिए।
ती खाताहरूमा यौन स्पष्ट सामग्री पठाइएको र यस्ता सामग्री खोजिरहेका वयस्कहरूबाट सम्पर्क आएको पाइएको थियो। यस घटनापछि तीन जनाविरुद्ध आपराधिक मुद्दा दायर गरिएको टोरेजको कार्यालयले जनाएको छ।
राज्यले मेटाले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको प्रमाण हुँदाहुँदै पनि प्रयोगकर्ताको संलग्नता बढाउने गरी प्लेटफर्म डिजाइन गरेको आरोप पनि लगाएको छ।
अनन्त स्क्रोल, स्वचालित भिडियो जस्ता फिचरहरूले बालबालिकालाई लामो समयसम्म प्लेटफर्ममा बाँधेर राख्ने, जसले लत, डिप्रेसन, चिन्ता र आत्महत्यासम्मको जोखिम बढाउने मुद्दामा उल्लेख गरिएको छ।
मुद्दाअनुसार मेटाका आन्तरिक कागजातहरूले यौन शोषण र मानसिक स्वास्थ्यसम्बन्धी समस्याबारे कम्पनी जानकार रहेको देखाउँछन्। तर उमेर प्रमाणीकरणजस्ता आधारभूत सुरक्षा उपाय नअपनाई प्लेटफर्म सुरक्षित भएको भ्रामक जानकारी दिएको आरोप लगाइएको छ।
राज्यले क्षतिपूर्तिसँगै बालबालिकाको सुरक्षामा सुधार ल्याउन मेटालाई बाध्यकारी आदेश जारी गर्न अदालतसँग माग गरेको छ। मुद्दा सुरु हुनुअघि जारी विज्ञप्तिमा मेटाका प्रवक्ताले न्यू मेक्सिको राज्यका तर्कलाई “सनसनीपूर्ण, असान्दर्भिक र ध्यान भड्काउने” भन्दै चुनिएका कागजातका आधारमा आरोप लगाइएको दावी गरेका छन्।
प्रकाशित: १७ माघ २०८२, शनिबार