सामाजिक सञ्जाल लतसम्बन्धी मुद्दामा टिकटकले गर्यो सम्झौता

  • Technology Khabar | १७ माघ २०८२, शनिबार
सामाजिक सञ्जाल लतसम्बन्धी मुद्दामा टिकटकले गर्यो सम्झौता
टिकटकको लोगो। फ्रिपिक डटकममार्फत।

काठमाडौं ।

सामाजिक सञ्जाल लतसम्बन्धी एक मुद्दामा टिकटकले सम्झौता गरेको छ, जसका कारण कम्पनीले अदालतमा जानु नपर्ने भएको छ। सम्झौताका शर्त सार्वजनिक गरिएको छैन।

न्युयोर्क टाइम्सका अनुसार यही मुद्दामा स्न्यापच्याटको स्वामित्वमा रहेको स्न्यापले पनि एक साता अघि यस्तै सम्झौता गरेको थियो।

अब यो मुद्दाको सुनुवाइ लस एन्जलसमा जारी रहनेछ, जहाँ बाँकी प्रतिवादीका रूपमा मेटा (फेसबुक/इन्स्टाग्राम) र युट्युब मात्र रहेका छन्।

मुद्दा दायर गर्ने व्यक्तिका कानुनी प्रतिनिधि मार्क ल्यानियरले सम्झौताप्रति सन्तुष्टि व्यक्त गर्दै यसलाई “राम्रो समाधान” भनेका छन्।

क्यालिफोर्नियाकी ती महिलाले मेटा, स्न्याप, टिकटक र युट्युबविरुद्ध मुद्दा दायर गर्दै ती प्लेटफर्महरू लत लाग्ने खालका रहेको र बाल्यकालमा आफूलाई हानि पुर्‍याएको दावी गरेको टेलिग्राफले उल्लेख गरेको छ।

यस मुद्दामा न्यायाधीशले यसअघि यी कम्पनीका शीर्ष कार्यकारीलाई साक्षीका रूपमा उपस्थित हुन आदेश दिएका थिए, जसमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग र इन्स्टाग्राम प्रमुख एडम मोसेरी समावेश छन्। युट्युबका प्रमुख कार्यकारी अधिकृत पनि साक्षीका रूपमा उपस्थित हुने अपेक्षा गरिएको छ।

यो मुद्दा सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूविरुद्ध दायर भएका धेरै मुद्दामध्ये पहिलो मानिएको छ, जसका अन्य मुद्दाहरू पनि यसै वर्ष अदालतमा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...