
काठमाडौं ।
बेलायतमा ईसिम प्रविधिप्रतिको जागरूकता तीव्र रूपमा बढ्दै गएको छ र विदेश यात्रा गर्दा ७० प्रतिशतभन्दा बढी मानिसले ईसिम प्रयोग गर्नेबारे सोचिरहेका छन्। यो तथ्यांक विश्लेषक संस्था सीसीएस इन्साइटले हालै सार्वजनिक गरेको नयाँ अध्ययनले देखाएको हो।
गत वर्षको अन्त्यतिर गरिएको सर्वेक्षणमा सहभागी करिब तीन चौथाइ उत्तरदाताले ईसिमबारे सुनेको पुष्टि गरेका छन्। यो सन् २०२२ मा गरिएको उही अध्ययनको तुलनामा ठूलो फड्को हो, जब केवल २७ प्रतिशत ले मात्र ईसिमबारे जानकारी भएको बताएका थिए।
सर्वेक्षणअनुसार, एक तिहाइ उत्तरदाताले बेलायती अपरेटरमार्फत ईसिम प्रयोग गरिसकेका छन्। यसमा आईफोन प्रयोगकर्ता अग्रपंक्तिमा देखिएका छन्, जुन स्वाभाविक मानिन्छ, किनकि एप्पलले ईसिम प्रविधिलाई आक्रामक रूपमा समर्थन गर्दै आएको छ।
कम्पनीले ईसिम–मात्र मोडेलहरू समेत बजारमा ल्याइसकेको छ, जसमा सेप्टेम्बरमा सार्वजनिक गरिएको आईफोन एयर पनि पर्छ।
“हामीले ईसिमप्रतिको जागरूकतामा उल्लेखनीय वृद्धि देखेका छौं, साथै यस प्रविधि प्रयोग गर्ने चाहना पनि उत्साहजनक छ,” सीसीएस इन्साइटका कन्ज्युमर एन्ड कनेक्टिभिटी निर्देशक केस्टर म्यानले वार्षिक उपभोक्ता सर्वेक्षणसँगै जारी वक्तव्यमा भने।
टेलिकम्स डटकमका अनुसार यी उत्साहजनक संकेतहरू विशेषगरी यात्रा क्षेत्रसँग सम्बन्धित छन्। डिसेम्बरमा करिब १,००० भन्दा बढी प्रतिनिधिमूलक उपभोक्ता समेटेर गरिएको सर्वेक्षणमा करिब एक चौथाइले ट्राभल ईसिम प्रदायक प्रयोग गरिसकेको बताएका छन्। पछिल्ला तीन वर्षमा विदेश भ्रमण गरेका व्यक्तिहरूमा यो संख्या ३२ प्रतिशत पुगेको छ।
उत्तरदातामध्ये ७३ प्रतिशतले आफ्नो आगामी अन्तर्राष्ट्रिय यात्रामा ट्राभल ईसिम प्रयोग गर्ने विचार गरिरहेको बताएका छन्। यसअघि ईसिम प्रयोग गरिसकेकाहरूमा यो अनुपात ८६ प्रतिशत छ। सम्भावित प्रयोगकर्ताहरूले सहजता र खर्च बचतलाई प्रमुख कारणका रूपमा उल्लेख गरेका छन्।
यो प्रवृत्ति जुनिपर रिसर्चले अक्टोबरमा सार्वजनिक गरेको तथ्यांकसँग मेल खान्छ। सो अध्ययनअनुसार, विश्वव्यापी रूपमा ट्राभल ईसिम प्याकेजबाट हुने आम्दानी गत वर्ष १.८ अर्ब डलर पुगेको छ, जुन सन् २०२४ मा रहेको ९८९ मिलियन डलरको तुलनामा झण्डै दोब्बर हो। यसको प्रमुख कारण परम्परागत मोबाइल रोमिङ सेवाभन्दा ईसिम प्याकेजहरू बढी किफायती हुनु रहेको टेलिकम्स डटकमले जनाएको छ।
उपभोक्तामाझ बढ्दो जानकारी र प्रयोगले ईसिम बजारलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। “स्मार्टफोनहरूमा बढ्दो अनुकूलता र अपरेटरहरूको समर्थनसँगै अब धेरै समय नलागी मोबाइल सेवा लिने प्रमुख माध्यम ईसिम नै बन्नेछ,” म्यानले भने।
सीसीएस मात्र यस्तो अनुमान गर्ने संस्था होइन। जीएसएमएले गत गर्मीयाममा सार्वजनिक गरेको पूर्वानुमानअनुसार, सन् २०३० सम्म विश्वभर ४.९ अर्ब ईसिम स्मार्टफोन जडान हुनेछन्, जुन कुल स्मार्टफोन जडानको ५५ प्रतिशत हो।
यद्यपि सीसीएसको सर्वेक्षण ईसिममै सीमित थिएन। यसले बेलायती बजारका अन्य प्रवृत्तिहरू पनि उजागर गरेको छ। तीमध्ये स्मार्टफोन बजारमा एप्पल र सामसङको वर्चस्व, रिफर्बिस्ड (पुनःनिर्मित) डिभाइसको बढ्दो प्रयोग, तथा भोडाफोन–थ्री मर्जरप्रति सकारात्मक धारणा प्रमुख छन्।
साथै सिम वन्ली योजनाहरू र मोबाइल हटस्पट प्रयोग पनि बढ्दै गएको देखिएको छ। बेलायतका झण्डै ४५ प्रतिशत मोबाइल प्रयोगकर्तासँग सिम वन्ली योजना छ, जुन पाँच वर्षअघिको तुलनामा १० प्रतिशत अंकले बढी हो। यसको कारणका रूपमा मोबाइल फोन परिवर्तन गर्ने चक्र लम्बिनु र सेवा प्रदायकहरूले दिने आकर्षक अफरहरूलाई उल्लेख गरिएको छ।
त्यसैगरी, सर्वेक्षणमा सहभागी ४० प्रतिशतभन्दा बढीले आफ्नो फोनलाई व्यक्तिगत मोबाइल हटस्पटको रूपमा प्रयोग गर्ने बताएका छन्। तीमध्ये दुई तिहाइले कम्तीमा हप्तामा एक पटक यस्तो प्रयोग गर्ने गरेका छन्। नियमित रूपमा हटस्पट प्रयोग गर्नेहरूले प्रायः अझ बढी डाटा प्याकेज लिने गरेको सीसीएसले जनाएको छ।
सीसीएसका अनुसार फोन टेथरिङको दोस्रो सबैभन्दा सामान्य स्थान घर नै हो। “यसले केही आधारभूत घरेलु ब्रोडब्यान्ड सेवाहरूका लागि प्रतिस्पर्धात्मक चुनौती सिर्जना गर्न सक्छ,” म्यानले भने। “सानो परिवार भएका उपभोक्ताहरूले ठूलो डाटा भएको मोबाइल प्लानबाट हटस्पट प्रयोग गर्नु, परम्परागत ब्रोडब्यान्ड लिनुभन्दा सस्तो ठान्न सक्छन्।”
प्रकाशित: १५ माघ २०८२, बिहीबार