
काठमाडौं ।
जापानी कङ्ग्लोमेरेट सफ्टबैंक ग्रुप कर्पले ओपनएआईमा थप ३० अर्ब डलरसम्म लगानी गर्नेबारे छलफल गरिरहेको एक जानकार स्रोतले मंगलबार जनाएको छ।
यससँगै सफ्टबैंकले च्याटजीपीटीको मालिक ओपनएआईप्रति आफ्नो लगानी अझ आक्रामक रूपमा बढाउन लागेको संकेत दिएको छ।
स्रोतका अनुसार यो नयाँ लगानी ओपनएआईको यस्तो फन्डिङ राउन्डको हिस्सा हुनेछ जसबाट कुल १०० अर्ब डलरसम्म पूँजी जुट्न सक्छ। यसले ओपनएआईको मूल्यांकन करिब ८३० अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
कृत्रिम बुद्धिमत्ता (एआई) प्रतिस्पर्धामा सफ्टबैंकको स्थिति बलियो बनाउने उद्देश्यले प्रमुख कार्यकारी मसयाशी सोनले ओपनएआईमा “सबैथोक दाउमा लगाउने” रणनीति अपनाएका छन्। गत डिसेम्बरमा सफ्टबैंकले ओपनएआईमा ४१ अर्ब डलर लगानी पूरा गरेको घोषणा गरेको थियो, जसबाट उसले कम्पनीमा ११ प्रतिशत हिस्सेदारी पाएको छ।
यसैबीच ओपनएआई भने आफ्ना एआई मोडेलहरूलाई तालिम दिन र सञ्चालन गर्न लाग्ने बढ्दो खर्चसँग जुधिरहेको छ। अर्कोतर्फ अल्फाबेट अन्तर्गतको गुगल बाट बढ्दो प्रतिस्पर्धाले पनि दबाब बढाएको छ।
यस समाचारलाई सबैभन्दा पहिले वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको थियो। टोकियोको बिहानको कारोबारमा सफ्टबैंकका सेयर ३.५ प्रतिशत ले बढेका थिए। तर कम्पनीले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ।
गत महिना रोयटर्सले रिपोर्ट गरेअनुसार मसयाशी सोनले अघिल्लो लगानीका लागि रकम जुटाउन हतारिनुपरेको थियो जसका कारण सफ्टबैंकको भिजन फन्डमार्फत हुने अन्य धेरै सम्झौताहरू लगभग ठप्प भएका थिए।
ओपनएआई र सफ्टबैंक दुवै स्टारगेट नामक परियोजनाका पनि लगानीकर्ता हुन्। यो ५०० अर्ब डलर बराबरको पहल हो, जसअन्तर्गत एआई तालिम र इनफरेन्सका लागि ठूला डाटा सेन्टर निर्माण गरिँदैछ। कम्पनीका कार्यकारीहरूका अनुसार यो परियोजना चीनभन्दा एआई क्षेत्रमा अग्रता कायम राख्ने अमेरिकी सरकारको महत्वाकांक्षाका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ।
प्रकाशित: १५ माघ २०८२, बिहीबार