
काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ।
बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो।
बैंकमा खाता खोल्नको लागि ग्राहकहरुले बैंकको काठमाडौंको कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाटै सहज रुपमा आफ्नो बैंक खाता खोल्न सक्नेछन्।
यसरी खाता खोल्नेक्रममा सम्पूर्ण विवरणहरु किओस्क मेसिन मार्फ्त प्रदान गर्नुपर्नेछ। तत्पश्चात्, आवश्यक कागजातहरु प्रविष्ट गरी खाता नम्बर उपलब्ध गराइनेछ। हालका लागि यो सेवा बैंकको कमलादीमा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध रहेको छ।
यसअघि, बैंकले बैंकको कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्स मार्फत मेसिनबाटै क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सेवाहरु उपलब्ध गराइरहेको थियो।
भविष्यमा यस्ता सेवालाई बैंकले अरु स्थानमा पनि विस्तार गर्दै जाने योजना राखेको जनाएको छ।
प्रकाशित: १४ माघ २०८२, बुधबार