भ्वाइस असिस्टेन्ट गोपनीयता मुद्दामा ६८ मिलियन डलर क्षतिपूर्ति दिन गुगल सहमत

  • Technology Khabar | १४ माघ २०८२, बुधबार
भ्वाइस असिस्टेन्ट गोपनीयता मुद्दामा ६८ मिलियन डलर क्षतिपूर्ति दिन गुगल सहमत
फाइल तस्बिर

काठमाडौं ।

स्मार्टफोन प्रयोगकर्तामाथि अनधिकृत रूपमा निगरानी गरेको आरोप लागेपछि गुगलले ६८ मिलियन अमेरिकी डलर क्षतिपूर्तिमा मुद्दा टुंग्याउन सहमति जनाएको छ।

यो मुद्दा गुगलको गुगल असिस्टेन्ट भ्वाइस असिस्टेन्टले प्रयोगकर्ताको अनुमति बिना कुराकानी सुनेको दावीका आधारमा दायर गरिएको थियो।

वादीहरूको आरोपअनुसार गुगल असिस्टेन्टले सामान्य कुराकानीलाई गलत रूपमा पहिचान गरेपछि प्रयोगकर्ताको निजी संवाद सुन्न थालेको थियो। यसरी संकलित हुन नहुने निजी जानकारी प्रयोग गरेर लक्षित विज्ञापन देखाइएको दावी मुद्दामा गरिएको छ।

रोयटर्सका अनुसार गुगलले मुद्दामा गल्ती स्वीकार नगरेको भए पनि, लामो कानुनी प्रक्रिया, जोखिम र खर्चबाट बच्न सम्झौतामार्फत मुद्दा टुंग्याउन सहमति जनाएको हो। प्रारम्भिक क्लास–एक्सन सेटलमेन्ट गत शुक्रबार दायर गरिएको छ र अब अमेरिकी जिल्ला न्यायाधीश बेथ ल्याब्सन फ्रिम्यानको स्वीकृतिको पर्खाइमा छ।

पछिल्लो एक वर्षयता गुगलले गुगल असिस्टेन्टबाट क्रमशः दूरी बनाउँदै जेमिनी नामक नयाँ एआई टुलतर्फ सर्दै आएको छ। यद्यपि विज्ञहरूले एआई च्याटबोटहरू पनि गोपनीयताको दृष्टिले पूर्ण रूपमा सुरक्षित नहुने चेतावनी दिँदै आएका छन्।

यो प्रकारको मुद्दा पहिलो पटक भने होइन। २०१९ मा एप्पलले पनि आफ्नो सिरी भ्वाइस असिस्टेन्टमार्फत प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोप सामना गरेको थियो। उक्त क्लास–एक्सन मुद्दा २०२५ जनवरीमा ९५ मिलियन डलर क्षतिपूर्तिमा टुंगिएको थियो।

यस्ता सेटलमेन्टमा प्रति उपकरण करिब २० डलर जति मात्र क्षतिपूर्ति पुग्ने सम्भावना रहेको भन्दै केहीले आलोचना पनि गरेका छन्। किनकि ती कम्पनीहरूले अनायासै भए पनि अत्यन्त निजी कुराकानी सुनेको विषय गम्भीर मानिन्छ। तर अन्ततः यस्ता मुद्दा अमेरिकी न्याय प्रणालीले यसैगरी समाधान गर्दै आएको टिप्पणी गरिएको छ।

प्रकाशित: १४ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार