टिकटक हटाउँदै प्रयोगकर्ता, स्वतन्त्र एप अपस्क्रोल्डतर्फ आकर्षण बढ्दै

  • Technology Khabar | १४ माघ २०८२, बुधबार
टिकटक हटाउँदै प्रयोगकर्ता, स्वतन्त्र एप अपस्क्रोल्डतर्फ आकर्षण बढ्दै
टिकटकको लोगो। फ्रिपिक डटकममार्फत।

काठमाडौं ।

टिकटकको नयाँ अमेरिकी संरचना सुरु भएदेखि नै एपले प्राविधिक समस्याहरू भोगिरहेको छ। सिफारिस एल्गोरिदम, भ्यु काउन्ट र लोड टाइमसँग सम्बन्धित गडबडीहरू जारी रहँदा धेरै प्रयोगकर्ताले टिकटक अनइन्स्टल गर्न थालेका छन्, नयाँ तथ्यांकले देखाएको छ।

एप डाउनलोड र प्रयोगसम्बन्धी तथ्यांक ट्र्याक गर्ने एनालिटिक्स कम्पनी सेन्सर टावरले सीएनबीसीलाई दिएको जानकारीअनुसार पछिल्ला तीन महिनाको तुलनामा अमेरिकामा टिकटक अनइन्स्टलको संख्या १५० प्रतिशतले बढेको इन्ग्याजेटले उल्लेख गरेको छ।

यद्यपि सोही अवधिमा टिकटकका अमेरिकी दैनिक सक्रिय प्रयोगकर्ता करिब २ प्रतिशतले मात्र बढेका छन् र साप्ताहिक आधारमा स्थिर अवस्थामा छन्।

टिकटकले यी समस्याको कारण डाटा सेन्टरमा भएको विद्युत् अवरोध लाई देखाउँदै भ्यु काउन्ट र लोड टाइममा असर पार्ने “धेरै बग” देखिएको बताएको छ। तर समस्या कहिलेसम्म समाधान हुन्छ भन्नेबारे कम्पनीले स्पष्ट समयसीमा दिएको छैन।

यसैबीच अपस्क्रोल्ड नामको स्वतन्त्र सामाजिक एपले पछिल्ला दिनहरूमा असाधारण लोकप्रियता कमाएको छ। हाल यो एप अमेरिकी एप स्टोरमा नवौँ सबैभन्दा धेरै डाउनलोड भएको एप र सामाजिक एपमध्ये दोस्रो स्थानमा पुगेको छ (पहिलो स्थानमा मेटाको थ्रेड्स छ)।

अपस्क्रोल्ड ले युके र अष्ट्रेलियामा पनि टप पाँच भित्र स्थान बनाइसकेको छ। अमेरिकामा यसको अचानक लोकप्रियता टिकटकमा आएका पछिल्ला परिवर्तन र समस्यासँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ।

एप फिगर्सका अनुमानअनुसार टिकटकको अमेरिकी संयुक्त उद्यम औपचारिक बनेको दिन (बिहीबार) देखि शनिबारसम्म मात्रै अपस्क्रोल्डका ४१ हजार डाउनलोड भएका छन्।

यो एप गत जुनमा सार्वजनिक गरिएको थियो र अहिलेसम्म एप्पल र गुगलका एप स्टोरमार्फत करिब १ लाख ४० हजार पटक डाउनलोड भइसकेको छ। गत बिहीबारअघिसम्म भने यसको औसत दैनिक डाउनलोड ५०० भन्दा कम थियो।

डाउनलोडको तीव्र वृद्धिका कारण केही प्राविधिक समस्या देखिएपछि कम्पनीले सोमबार प्रयोगकर्तालाई “धैर्य गर्न” अनुरोधसमेत गरेको छ।

अष्ट्रेलियाली डेभलपरले बनाएको अपस्क्रोल्ड हेर्दा केही हदसम्म इन्स्टाग्राम जस्तै देखिन्छ। यसमा प्रयोगकर्ताले तस्बिर र छोटो भिडियो सेयर गर्न सक्छन्। एपले डिफल्ट रूपमा क्रोनोलोजिकल ‘फलोइङ’ फीड देखाउँछ।

टिकटकमा आएको अस्थिरताले साना एपलाई फाइदा पुगेको यो पहिलो पटक भने होइन। गत वर्ष टिकटकमाथि सम्भावित प्रतिबन्धको चर्चा चर्किँदा चिनियाँ एप रेडनोट छोटो समयका लागि अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको थियो। तर टिकटकमाथिको प्रतिबन्ध केही घण्टामै हटेपछि रेडनोटको लोकप्रियता पनि चाँडै घटेको थियो।

तर यसपटक टिकटकमा नयाँ स्वामित्व संरचना र लगातार देखिएका प्राविधिक समस्याका कारण ठूलो कर्पोरेट नियन्त्रणबाहिरको नयाँ छोटो–भिडियो प्लेटफर्मका लागि अवसर सिर्जना हुन सक्ने विश्लेषकहरू बताउँछन्। अपस्क्रोल्ड पनि यही सम्भावनामा दाउ लगाइरहेको देखिन्छ।

“प्रयोगकर्ताहरूको आवाज सुनिन्छ कि दबाइन्छ भन्ने अनिश्चितता आज सामान्य भइसकेको छ,” अपस्क्रोल्ड ले आफ्नो वेबसाइटमा लेखेको छ। “अपस्क्रोल्ड ले प्रत्येक पोस्टलाई समान रूपमा देखिने मौका सुनिश्चित गर्दै प्रामाणिक, फिल्टररहित र सबैका लागि न्यायपूर्ण वातावरण सिर्जना गर्छ।”

प्रकाशित: १४ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार