
काठमाडौं ।
एआई मोडेल प्रशिक्षणका लागि अनुमति बिना आफ्ना भिडियो प्रयोग गरिएको आरोप लगाउँदै केही यूट्युबरहरूले स्न्याप विरुद्ध मुद्दा दायर गरेका छन्।
यसअघि एनभिडिया, मेटा र बाइटडान्सविरुद्ध यस्तै मुद्दा दायर गरिसकेका ती सामग्री सिर्जनाकर्ताहरूले अब स्न्याप लाई पनि प्रतिवादीको सूचीमा थपेका हुन्।
टेकक्रञ्चका अनुसार करिब ६२ लाख संयुक्त सब्स्क्राइबर भएका तीन यूट्युब च्यानलका पछाडि रहेका ती इन्टरनेट कन्टेन्ट क्रिएटरहरूले स्न्यापले आफ्ना भिडियो सामग्री प्रयोग गरी एआई प्रणाली तालिम दिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार स्न्यापका “इम्याजिन लेन्स” जस्ता एआई फिचर—जहाँ प्रयोगकर्ताले टेक्स्ट प्राम्प्टमार्फत तस्बिर सम्पादन गर्न सक्छन्—यस्ता विवादित तालिम डाटाबाट विकसित गरिएका हुन्।
शुक्रबार क्यालिफोर्नियाको केन्द्रीय जिल्ला अमेरिकी जिल्ला अदालतमा दायर गरिएको प्रस्तावित क्लास–एक्सन मुद्दामा स्न्यापले एचडी -भिला-१००एम नामक ठूलो भिडियो–भाषा डाटासेट प्रयोग गरेको उल्लेख छ। यो डाटासेट तथा यस्तै अन्य डाटाहरू मूलतः शैक्षिक र अनुसन्धान प्रयोजनका लागि मात्र बनाइएका थिए।
तर मुद्दामा दावी गरिएअनुसार स्न्यापले युट्युबको प्रविधिक प्रतिबन्ध, सेवा सर्त र लाइसेन्स सीमालाई छल्दै ती सामग्री व्यावसायिक प्रयोजनका लागि प्रयोग गरेको हो।
वादीहरूले स्न्याप विरुद्ध कानुनी क्षतिपूर्ति र भविष्यमा यस्ता कथित कपीराइट उल्लङ्घन रोक्न स्थायी आदेश माग गरेका छन्।
यो मुद्दाको नेतृत्व एच३एच३ युट्युब च्यानल (५५.२ लाख सब्स्क्राइबर) का सिर्जनाकर्ताहरूले गरिरहेका छन्। उनीहरूसँगै मिस्टरशर्टगेम गल्फ र गल्फहोलिक्स नामका साना गल्फ–सम्बन्धी च्यानलहरू पनि मुद्दामा सहभागी छन्।
यो प्रकरण सामग्री सिर्जनाकर्ता र एआई मोडेल विकास गर्ने कम्पनीबीच चलिरहेका धेरै कानुनी लडाइँहरूमध्ये एक हो। यस्ता विवादमा प्रकाशक, लेखक, पत्रपत्रिका, युजर–जेनेरेटेड कन्टेन्ट प्लेटफर्म र कलाकारहरू समेत संलग्न हुँदै आएका छन्।
गैरनाफामुखी संस्था कपीराइट अलायन्सका अनुसार हालसम्म एआई कम्पनीहरू विरुद्ध ७० भन्दा बढी कपीराइट उल्लङ्घनसम्बन्धी मुद्दा दायर भइसकेका छन्।
मेटा र लेखकहरूको समूहबीचको एक प्रकरणजस्तो केही मुद्दामा अदालतले टेक कम्पनीकै पक्षमा फैसला गरेको छ। अन्य केहीमा एन्थ्रोपिक र लेखकहरूबीचको मुद्दाजस्तै—सम्झौतामार्फत क्षतिपूर्ति दिएर विवाद टुंग्याइएको छ। तर धेरैजसो मुद्दा अझै अदालतमा विचाराधीन छन्।
प्रकाशित: १४ माघ २०८२, बुधबार