
काठमाडौं ।
माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि आफ्नो नयाँ माइया २०० एक्सेलेरेटर चिप सार्वजनिक गरेको छ जसले गुगलको टीपीयू र अमेजनको ट्राइनियम प्रोसेसरभन्दा तीन गुणा बढी प्रदर्शन दिने दावी गरिएको छ।
यो चिप मुख्यत: एआई इन्फरेन्सका लागि डिजाइन गरिएको हो—अर्थात् तालिम (ट्रेनिङ) भइसकेका मोडेलले वास्तविक समयमा छिटो र ऊर्जा–दक्ष रूपमा नतिजा दिन सक्ने बनाउने उद्देश्यका साथ।
लाइभसाइन्सका अनुसार माइक्रोसफ्टका क्लाउड तथा एआई कार्यकारी उपाध्यक्ष स्कट गुथ्रीका अनुसार माइया २०० ले एफपी४ (४ बिट प्रिसिजन) मा १० पेटाफ्लप्सभन्दा बढी र एफपी८ (८-बिट प्रिसिजन) मा ५ पेटाफ्लप्स प्रदर्शन दिन्छ। एफपी४ कम ऊर्जामा उच्च गति दिन सक्षम भए पनि एफपी८ तुलनात्मक रूपमा बढी सटीक मानिन्छ।
गुथ्रीले माइया २०० ले अमेजनको तेस्रो पुस्ताको ट्राइनियमभन्दा एफपी४ मा तीन गुणा बढी र गुगलको सातौं पुस्ताको टीपीयूभन्दा एफपी८ मा उच्च प्रदर्शन दिने बताएका छन्। एउटै माइया २०० नोडले आजका सबैभन्दा ठूला एआई मोडेलहरू सजिलै चलाउन सक्ने र भविष्यका अझ ठूला मोडेलका लागि पनि पर्याप्त क्षमता रहेको माइक्रोसफ्टको दावी छ।
यो चिप हाल माइक्रोसफ्टको अमेरिकी केन्द्रीय डाटा सेन्टर क्षेत्रमा प्रयोगमा आइसकेको छ। माइया २०० लाई सिन्थेटिक डाटा उत्पादन, रिइनफोर्समेन्ट ट्रेनिङ, माइक्रोसफ्ट फाउण्ड्री, माइक्रोसफ्ट ३६५ कोपाइलट तथा अज्युर क्लाउड पूर्वाधारमा प्रयोग गरिनेछ।
टीएसएमसीको ३-न्यानोमिटर प्रक्रियामा बनेको माइया २०० मा करिब १०० अर्ब ट्रान्जिस्टर छन्। यसका कारण कम्पनीले विद्यमान प्रणालीको तुलनामा प्रति डलर ३० प्रतिशत बढी प्रदर्शन दिने दावी गरेको छ। चिपमा समावेश गरिएको उन्नत मेमोरी प्रणालीले मोडेलका तौल र डाटा नजिकै राख्न मद्दत गर्ने भएकाले कम हार्डवेयरमै ठूला मोडेल चलाउन सकिने बताइएको छ।
यद्यपि माइया २०० उपभोक्ता-स्तरका उपकरणका लागि होइन, यसको प्रभाव कोपाइलट, अज्युर ओपनएआई प्रयोग गर्ने डेभलपर, वैज्ञानिक र संस्थाहरूले छिटो प्रतिक्रिया समय र उच्च थ्रुपुटका रूपमा अनुभव गर्न सक्नेछन्। यसले मौसम पूर्वानुमान, जैविक–रासायनिक अनुसन्धानजस्ता ठूला एआई परियोजनाहरूमा पनि सुधार ल्याउने अपेक्षा गरिएको छ।
प्रकाशित: १४ माघ २०८२, बुधबार