
काठमाडौं ।
अर्बपति इलन मस्कको एक्सएआईले विकास गरेको, रूढिवादी झुकाव भएको एआई–निर्मित विश्वकोश ग्रोकिपिडियाबाट लिइएको जानकारी अहिले च्याटजीपीटीका उत्तरहरूमा देखिन थालेको छ।
मस्कले विकिपिडिया रूढिवादीहरूविरुद्ध पूर्वाग्रही भएको भन्दै आलोचना गरिरहेका बेला एक्सएआईले गत अक्टोबरमा ग्रोकिपिडिया सार्वजनिक गरेको थियो।
पत्रकारहरूले पत्ता लगाएअनुसार ग्रोकिपिडियाका धेरै लेखहरू विकिपिडियाबाट सिधै नक्कल गरिएको जस्तो देखिए पनि यसमा पोर्नोग्राफीले एड्स संकटमा योगदान गरेको दावी, दासप्रथाका लागि “वैचारिक औचित्य” प्रस्तुत गरिएको सामग्री र ट्रान्सजेन्डर व्यक्तिहरूका लागि अपमानजनक शब्दावली प्रयोग गरिएको सामग्रीसमेत समावेश टेकक्रञ्चले उल्लेख गरेको छ।
यस्ता सामग्रीहरू आफूलाई कुनै बेला “मेका हिटलर” भनेर वर्णन गर्ने र एक्स प्लेटफर्ममा यौनिक डीपफेकहरू फैलाउन प्रयोग गरिएको च्याटबोटसँग जोडिएको विश्वकोशमा हुनु अस्वाभाविक मानिँदैन।
तर अब यी सामग्रीहरू मस्कको इकोसिस्टम बाहिरसमेत फैलिन थालेको देखिएको छ। गार्डियनका अनुसार जीपीटी-५.२ ले दर्जनभन्दा बढी फरक–फरक प्रश्नहरूको उत्तर दिँदा ग्रोकिपिडियालाई नौ पटक उद्धृत गरेको छ।
गार्डियनका अनुसार ग्रोकिपिडियाको गलत जानकारी व्यापक रूपमा आलोचित भइसकेको जनवरी ६ को दंगा वा एचआईभी/एड्स महामारीजस्ता विषयमा भने च्याटजीपीटीले ग्रोकिपिडियालाई स्रोतका रूपमा उल्लेख गरेन।
यसको साटो कम चर्चित विषयहरूमा यसलाई उद्धृत गरिएको थियो, जसमा इतिहासकार सर रिचर्ड इभान्सबारेका दाबीहरू पनि पर्छन्, जसलाई गार्डियनले यसअघि नै खण्डन गरिसकेको थियो।
(एन्थ्रोपिकको क्लाउड च्याटबोटले पनि केही प्रश्नहरूको उत्तर दिन ग्रोकिपिडियालाई स्रोतका रूपमा प्रयोग गरेको देखिन्छ।)
ओपनएआईका एक प्रवक्ताले गार्डियनलाई दिएको प्रतिक्रियामा च्याटजीपीटी “सार्वजनिक रूपमा उपलब्ध विभिन्न स्रोत र दृष्टिकोणहरूबाट जानकारी लिने प्रयास गर्छ” भनेका छन्।
प्रकाशित: १२ माघ २०८२, सोमबार