
काठमाडौं ।
दक्षिण कोरियाको हुन्डाई मोटर कामदार संघले रोबोटहरूले “रोजगारमा बाधा” ल्याउने बताउँदै बिहीबार अटोमेकरलाई युनियनको स्वीकृति बिना ह्युमनोइड रोबोट तैनाथ नगर्न चेतावनी दिएको छ।
२०२८ देखि सुरु हुने ह्युमनोइड रोबोट तैनाथ गर्ने हुन्डाईको योजनाले कम्पनीको शेयर रेकर्ड उच्चतममा पुर्याएको छ। यद्यपी यो कामदारहरूको लागि स्वागतयोग्य समाचार नभएको भनि युनियनले रोयटर्सद्वारा समीक्षा गरिएको आन्तरिक पत्रमा भनिएको छ।
“याद राख्नुहोस् कि श्रम–व्यवस्थापन सम्झौता बिना, नयाँ प्रविधि प्रयोग गर्ने कुनै पनि रोबोटलाई कार्यस्थलमा प्रवेश गर्न अनुमति दिइने छैन” युनियनले भन्यो।
हुन्डाई मोटर समूहले यो महिनाको सुरुमा लस भेगासमा भएको कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा कम्पनीको बोस्टन डाइनामिक्स एकाइद्वारा विकसित एटलस ह्युमनोइड रोबोटको उत्पादन संस्करण अनावरण गरेको थियो।
कम्पनीले २०२८ सम्ममा प्रति वर्ष ३०,००० रोबोट एकाइहरू उत्पादन गर्न सक्षम कारखाना निर्माण गर्ने लक्ष्य राखेको र २०२८ देखि जर्जियामा रहेको आफ्नो अमेरिकी कारखानामा ह्युमनोइड रोबोट तैनाथ गर्ने योजना बनाएको बताएको छ भने सबै उत्पादन स्थानहरूमा प्रयोग विस्तार गर्नु उद्देश्य भएको उल्लेख गरिएको छ।
युनियनले हुन्डाईले कार्यबल घटाउन रोबोटहरू तैनाथ गरेर नाफा बढाउन खोजेको आरोप लगाएको छ।
युनियनले उत्पादन संयुक्त राज्य अमेरिकामा सार्ने प्रयासको लागि अटोमेकरको आलोचना पनि गर्दै जर्जियामा हुन्डाईको नयाँ प्लान्टले पहिले नै घरेलु उत्पादनलाई हानि पुर्याइरहेको र कोरियामा रहेका कम्पनीका दुई कारखानाहरूमा रोजगारी सुरक्षालाई खतरामा पारिरहेको बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १२ माघ २०८२, सोमबार